लाखौँ मूल्यका प्रतिबन्धित सामानहरू बरामद
कञ्चनपुर। कञ्चनपुर प्रहरीले लाखौँ मूल्यका प्रतिबन्धित सामानहरू बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमा नाका गड्डाचौकीदेखि भारतबाट भन्सार छली गरेका सामानहरू क्यारिङ गर्ने व्यक्तिहरूको पिछा गर्दै जाँदा भीमदत्त नगरपालिका वडा नम्बर १८ बस्ने सुशील गुप्ताले सञ्चालन गरेको हिमांशु प्लाष्टिक स्टोरको गोदाममा शङ्का लागी चेकजाँच गर्ने क्रममा गोदाम र पसलमा नेपाल सरकारले प्रतिबन्ध गरेका प्लास्टिकजन्य सामानहरू फेला पारेको थियो ।
भन्सार छली गरी ल्याई राखिएका एघार लाख मूल्य बराबरका ती प्लास्टिकजन्य सामानहरू कानुन बमोजिम बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरिएका ती सामानहरू आवश्यक कारबाहीको लागि भोली आइतबार कञ्चनपुर भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्कर राज पन्तले बताउनुभयो ।
यसअघि बिहीबार मात्रै पनि प्रहरीले भीमदत्त नगरपालिका वडा नम्बर ०६ बस्ने भुवन भाटको घरमा शङ्का लागी चेकजाँच गर्ने क्रममा घर भित्र रहेको गोदाममा अवैध रूपमा भन्सार छली गरी ल्याई राखिएका दश लाख मूल्य बराबरका खाद्यान्न सामग्री र किराना सामानहरू फेला पारी भन्सार पठाएको थियो ।







प्रतिक्रिया राख्नुहोस्