सिमीबाटै समृद्धि खोज्दै मुगुका किसान

मुगु । सिमीबाट राम्रो आम्दानी हुन थालेसँगै मुगुका कृषकहरू केही वर्ष यता सिमी खेतीतर्फ आकर्षित हुँदै गइरहेका छन् ।
परम्परागत खेती, पाखे धान, चिनो काउनीबाट खासै मूल्य नपाए पछि मुगुका कृषकहरू सिमी खेतीतर्फ आकर्षित भएका हुन् ।
पहिलेदेखि घरको लागि दाल खान भनेर थोरै मात्रामा सिमी खेती गर्दै आएका कृषकहरू अहिले भने स्थानीय बजारका साथै जिल्ला बाहिर राम्रो मूल्य पाउन थालेपछि बृहतरुपमा सिमी खेती गर्दै आइरहेका छन् ।
मुगु जिल्लाका लेकाली भेगहरू, उच्च चिसो हावा पानी भएको स्थानहरूमा सिमी खेती गर्ने गरिन्छ ।

मुगु जिल्लाका चार ओटै भेगहरू करान, गम,सोरु र खतेडमा सिमी खेती गरिन्छ । कार्तिक महिनामा उत्पादन हुने सिमी खरिदका लागि व्यापारीहरू घरघरमा पुग्ने गरेकाले बजारको कुनै समस्या नभएको स्थानीय कृषकहरू बताउनुहुन्छ ।
विगतका वर्षहरू झैँ यसपाली पनि सिमी बेचेर राम्रै आम्दानी हुने आशा रहेको सोरु गाउँपालिका वडा नं ८ आँसिधाराका कृषक नन्दलाल रोकायाले बताउनुभयो । वार्षिक पचासदेखि साठी हजारसम्म सिमीबाटै कमाउने गरेको उहाँले बताउनुभयो ।

छायाँनाथ रारा नगरपालिका वडा नं ६ कोटिल्ला गाउँका कृषक रामलाल ऐडीले सिमी खेतीबाट वार्षिक दुईदेखि तीन लाख रुपियाँ कमाउने गरेको बताउनुभयो । छ जनाको परिवार सङ्ख्या भएको ऐडीले गरेको व्यावसायिक सिमी खेतीले आफूले वार्षिक आठ देखि दश क्विन्टल सिमी उत्पादन गर्ने गरेको बताउनुभयो ।
‘गामगढी बजार नजिकै भएकाले ग्राहकको कुनै समस्या छैन, सिमीले राम्रै आम्दानी दिएको छ’, उहाँले भन्नुभयो । सिमी बेचेकै पैसाले बर्ष भरि घर खर्च चल्ने गरेको उहाँले बताउनुभयो । ‘बाल बच्चालाई स्कुल पठाउनेदेखि बाँकी बचेको पैसा बैंकमा बचत गर्नसमेत सफल भएको छु, घर खर्च सिमीकै भरमा चलिरहेको छ’, एडीले भन्नुभयो ।

‘सिमी खेती गर्न मेहनत धेरै गर्नु पर्ने भएपनि बजारको कुनै समस्या नभएकोले हामीलाई धेरै सहज भएको छ ।’, उहाँले भन्नुभयो ।
छायाँनाथ रारा नगरपालिका वडा नं ९ मुर्मा गाउँका अर्का कृषक सिंह रोकायाले व्यावसायिकरुपमा सिमी खेती गरेको धेरै समय भयो यसबाट वार्षिक दुई लाख कमाउने गरेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ वर्ष भरी घर खर्च र तीन जना बालबच्चाको पढाई लेखाई गरी बचेको पैसा बचत गर्ने गरेका छौँ उहाँले भन्नु भयो । कुल ८० घरधुरी रहेको मुर्मा गाउँमा सबै घरधुरी सिमी खेती गर्ने गरेका छन् । वर्ष भरि घरमा दालको रुपमा प्रयोग गरेर बच्ने जति सिमी बेचेर लाखौँ रुपियाँ कमाउँदै आएका छन् । मुर्मा गाउँ नेपालकै ठुलो राराताल नजिकै पर्ने भएकाले रारा घुम्न आउने पर्यटकहरूले नासोको रुपमा घरघर गएर सिमी खरिद गर्ने गरेको पनि मुर्मा गाउँका शिक्षक नन्दसिंह रोकायाले बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्