विशेषज्ञ सहितको सैनिक शिविरमा एक हजार बढिले लिए स्वास्थ्य सेवा
नवलपरासी । नेपाली सेनाले ग्रामीण क्षेत्रमै गएर विशेषज्ञ चिकित्सक सहितको सेवा प्रदान गरेको छ ।पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउँपालिका परासिमा रहेको गोरखदल गणले बुधबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।सो शिविरमा एक हजार बढी नागरिकहरू सेवाबाट लाभान्वित भएका छन् ।
स्वास्थ्य शिविरमा एक हजार बढिले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा लिएका छन् । विशेषज्ञ चिकित्सक सँग चेकजाँचका लागी बुटवल भैरहवा सम्म पुग्नुपर्ने बाध्यतामा रहेका सिमावर्ती क्षेत्रका जनतालाई सेनाको स्वास्थ्य शिविरले ठूलो राहत मिलेको छ । घर आँगनमै विशेषज्ञ सहितको सेवा लिन पाउँदा उनीहरू खुसी देखिन्थे ।
जिल्लामा विशेषज्ञ चिकित्सक नहुँदा विभिन्न स्वास्थ्य समस्या लिएर बुटवल भैरहवा जानू पर्ने बिरामीहरूलाई शिविरले निकै राहत मिलेको सेवाग्राहीको भनाई थियो ।शिविरमा ७१५ महिला र ३१७ पुरुष ले विशेषज्ञ सेवा लिएको गोरखदलगणका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा देवदह मेडिकल कलेज र नेपाली सेनाका गरी २० जना भन्दा बढी विशेषज्ञ चिकित्सक सहित ५० जना स्वास्थ्यकर्मीको टोलीले चेकजाँच गरेको हो ।
स्थानीयलाई स्त्रीरोग, नाक कान घाँटी, मनोरोग, हाडजोर्नि, मुटुरोग, दन्त सेवा लगायतका ११ प्रकारका रोगका विशेषज्ञ सेवा सहित ईसिजि सेवा प्रदान गरिएको थियो । मुलत:सिमावर्ती क्षेत्रका नागरिकले सहजै विशेषज्ञ चिकित्सक सेवा नपाउने समस्यालाई मध्यनजर गरी शिविर आयोजना गरेको गोरखदल गण परासीका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताउनुभयो ।
शिविरमा स्त्रीरोग सम्बन्धि सबैभन्दा बढी २ सय २ जनाले चेकजाँच गरी उपचार सेवा लिएका छन् । सेनाले स्वास्थ्य शिविर मार्फत चिकित्सकको सिफारिस बमोजिम विभिन्न औषधि कम्पनी र ब्यवस्यायीहरुको सहयोगमा सङ्कलित ८ लाख बराबरको औषधि निःशुल्क वितरण गरेको जनाइएको छ ।जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा बिरामीहरू चेकजाँचका लागि बुटवल,भैरहवा र भरतपुर जानू पर्ने अवस्था छ ।बिरामीले चेकजाँच सँगै शिविरबाटै निःशुल्क औषधिसमेत लिन पाएपछि उनीहरू हर्षित भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्