धरानलाई हराउँदै जलपाइगुडी क्वाटर फाइनल प्रवेश
इलाम । सातौँ मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा पानवारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो । जलपाइगुडीको जितमा स्टेफेन समिरले २ गोल र करण राईले १ गोल गरे । धरानका पदम भट्टराईले सान्त्वना गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ४ गोल भएको हो । दुवै टिममा सहिद स्मारक ए डिभिजन लिग खेलेका खेलाडीहरूको बाहुल्यता रहेको थियो ।
प्रतियोगिताको दोस्रो प्रि–क्वाटर फाइनल खेलमा रेडहर्स इलाम र चाँद एफसी तीनधारे बिच प्रतिस्पर्धा हुनेछ । आगामी अक्टोबर १५ सम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा नेपालका ५ क्लब र भारतका ११ क्लब सहभागी छन् । मानेभञ्ज्याङ फुटबल क्लबले विगतका वर्षहरू देखि अन्तरदेशीय सम्बन्ध विस्तारका लागि नेपाल–भारत सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्