धार्मिक सद्भाव कायम राख्न बाँके प्रशासनको अपिल
नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक सद्भाव कायम राख्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले आज एक सूचना जारी गरी कानुन विपरीतका कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभएको छ ।
“कुनै पनि व्यक्ति, सङ्घसंस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मको विरुद्ध हुने गरी कुनै पनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको सङ्केत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पुर्याउने कानुन विपरीतका कुनै पनि गतिविधि नगर्नु नगराउनु हुन जिल्लाबासी सबैमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

कोही कसैबाट कानुन विपरीतका यस्ता गतिविधि भएको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित नेपालको कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

सामाजिक सञ्जालमा आफ्नो धर्म र आस्थामा आघात पुग्ने गरी टिप्पणी गरिएको भन्दै नेपालगञ्जमा आज मुस्लिम युवाहरूले प्रदर्शन गरेका थिए । त्यसपछि जिल्ला प्रशासनले उच्छृङ्खल गतिविधि हुने सम्भावनालाई मध्यनजर गर्दै धार्मिक सद्भाव कायम राख्न अपिल गरेको हो । सामाजिक सञ्जालमा जथाभाबी लेख्ने उपर कारबाहीको माग गर्दै विपी चोक, त्रिभुवन चोक र जिल्ला प्रशासन अगाडि टायर बालेर प्रदर्शन गरिँदा नेपालगञ्जको ट्राफिक व्यवस्थापनमा बाधा पुगेको थियो ।








प्रतिक्रिया राख्नुहोस्