अस्पताल तोडफोड गर्ने र डाक्टर कुट्नेलाई कारबाही हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पताल तोडफोड गर्ने र डाक्टर कुट्नेलाई जुनसुकै पार्टीको व्यक्ति भए पनि कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार पोखरामा आयोजना भएको गण्डकी प्रदेश स्तरीय स्वास्थ्यको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री पाण्डेले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा होहल्ला गरी अस्पतालमाथि तोडफोड र डाक्टरमाथि नै हातपात गर्नेलाई सजाँय दिनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव भएकोले त्यसको पदपूर्ति गर्न सरकार लाग्ने बताउनुभयो । प्रदेशमा हाल डेंगु संक्रमण बढ्दो रूपमा रहेको, त्यसमा पनि तनहुँमा बढी देखिएको बताउनुभयो ।
गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले प्रदेशमा दैनिक २ जनाको आत्महत्या हुने गरेकोले यसमा सचेतना आवश्यक भएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य प्रशासक डा.यदुचन्द्र घिमिरेले नेपालमा स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने बताउनुभयो ।
प्रदेशका स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा.खिमबहादुर खड्काले प्रदेशमा मातृ शिशु मृत्युदर उच्च रहेकोले यसलाई न्यूनीकरण गर्न एयर एम्बुलेन्स आवश्यक रहेको जानकारी दिनुभयो ।
सामाजिक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. बिनोद विन्दु शर्माले अझै २६ प्रतिशत कर्मचारी पदपूर्ति नभएको बताउनुभयो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले अस्पतालको काम र जिम्मेवार बाँडफाँड हुनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्