अभिनाशको कीर्तिमानी ६ विकेटसँगै नेपाल क्वाटर फाइनलमा
काठमाडौँ । तीव्र गतिका बलर अभिनाश बोहराले कीर्तिमानी ६ विकेट लिएसँगै नेपाल १९ औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले पराजित गरेको हो । नेपालले अब समूह ‘ए’ को विजेताका रुपमा क्वाटर फाइनलमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानमध्ये एउटासँग खेल्ने छ ।
चीनको हाङ्झाउमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १२ रन बनाएको थियो । दुई सय १३ रनको विजय लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सको पारी १९ दशमलव चार ओभरमा मात्र ७४ रनमा समेटियो ।
यस क्रममा नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले कीर्तिमानी ६ विकेट लिए । उनले तीन दशमलव चार ओभर बलिङ गर्दै मात्र ११ रन खर्चे । टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ विकेट लिने बोहरा पहिलो नेपाली बलर हुन् । यसअघि टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान पाँच–पाँच विकेट लिएका थिए ।
आज नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने, गुलशन झा र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।
पाँच टेस्ट मुलुक भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानले सोझै क्वाटर फाइनलमा मौका पाएका छन् । समूह ‘बी’बाट हङकङ क्वाटर फाइनलमा प्रवेश गरेको छ भने समूह ‘सी’बाट क्वाटर फाइनलमा प्रवेश गर्ने टोलीको टुङ्गो लागेको छैन ।








प्रतिक्रिया राख्नुहोस्