तपाईँ सुन्दै हुनुहुन्छः

ड्रागन खेतीबाट राम्रो आम्दानी गर्दै दाङका कृषक

दाङ । दाङमा ड्रागन फलको व्यावसायिक खेती गरेका किसानले राम्रो आम्दानी लिन सुरु गरेका छन् ।
जिल्लामा नयाँ प्रजातिको फलका रूपमा रहेको ड्रागन फल अन्य फलफूलको तुलनामा महँगोमा बिक्री हुने गरेका कारण राम्रो आम्दानी हुने गरेको कृषकको भनाइ छ ।

घोराही उपमहानगरपालिका–१८ को अकबरेमा ड्रागन फलको व्यावसायिक खेती गर्दै आउनुभएका विक्रम बुढाले ड्रागन खेतीबाट आफू सन्तुष्ट रहेको बताउनु भयो । करिब ५० लाख रुपैयाँ खर्च गरेर ६ जनाको समूहले दँगाली ड्रागन फ्रुट फर्म दर्ता गरेर विगत पाँच वर्षदेखि दुई बिघा बढी जमिनमा व्यावसायिक खेती गर्दै आउनुभएका बुढाले वर्षमा २० देखि २५ लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ ।

व्यवसायी बुढाले भन्नुभयो, ‘दुई बिघा क्षेत्रफलमा करिब १३ सय बढी बिरुवाहरू रहेका छन्, प्रतिबिरुवा ३० देखि ४० किलोसम्म उत्पादन हुँदा पनि २० देखि ३० लाख रुपियाँसम्म आम्दानी हुने गरेको छ ।

विगतका वर्षजस्तै मूल्य भए ड्रागन फलबाट राम्रो आम्दानी भए पनि पछिल्लो समय जिल्लामा धेरै ठाउँमा ड्रागन फल खेती हुने गरेका कारण मूल्यमा कमी हुँदै आएको उहाँको भनाइ छ ।

उहाँका अनुसार ३–४ वर्षअघिसम्म प्रतिकिलो ८५० रुपियाँले विक्री गरेको भन्दै बर्सेनि मूल्य घट्दै आउँदा यसवर्ष ३ सय ५० देखि ४ सय ५० रुपियाँसम्म फल विक्री भइरहेका छ ।

किसान बुढाले भन्नुभयो, ‘चार वर्ष अघिजस्तै मूल्यमा अहिले ड्रागन फल विक्री हुन्थ्यो, कमाउन कहीँ जानुपर्ने थिएन । तर विगतको तुलनामा दोब्बरले मूल्यमा कमी आए पनि घाटा भने भएको छैन ।’ धेरै लगानी गरेर विदेश जाने र स्वदेशमा केही छैन भन्नेहरूका लागि मेहनत गर्न सके ड्रागन खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।

अन्य तरकारी, पशुपालन लगायतका कृषि व्यवसायमा मेहनतअनुसारको लगानी हुन नसकेको गुनासो आउने गरे पनि ड्रागन फलको खेतीमा त्यो समस्या नरहेका अर्का व्यवसायी दिलचन बुढाले बताउनुभयो ।

किसान बुढाले भन्नुभयो, ‘दुःख नगरेर कृषिमा आम्दानी हुँदैन । आफै खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।’
फर्ममा उत्पादन पनि राम्रो भएको र विक्रीका लागि घोराही बजार पनि नजिकै रहेकाले आफूलाई विक्रीका लागि समस्या नभएको बताउनुभयो ।
व्यवसायीका अनुसार जिल्लामा करिब २० देखि ३० बिघासम्म जमिनमा व्यावसायिक रूपमा
ड्रागन फलको खेती हुने गरे पनि यकिन तथ्याङ्क नभएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सिँचाइका लागि धेरै पानी आवश्यक नपर्ने र पहाडी भिरालो ठाउँमा पनि राम्रो आम्दानी लिन सकिने भएका कारण धेरै किसानहरू पछिल्लो समय ड्रागन फल खेतीमा लाग्ने गरेको व्यवसायीको भनाइ छ । जिल्लामा सबैभन्दा पहिले नेकपा (माओवादी केन्द्र) का पूर्व नेता एवं मन्त्री लोकेन्द्र विष्टले तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा खेतीको सुरुवात गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button