तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीलाई विकसित प्रदेश बनाउने गरी काम भइरहेको छ : कार्यवाहक प्रधानमन्त्री खड्का 

सुर्खेत । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीलाई देशकै विकसित प्रदेश बनाउने गरेर काम भइरहेको बताउनुभएको छ ।

भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको गुर्भाकोट नगरपालिका–९ गुर्भाकोट सुर्खेतमा उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिँचाइ, विद्युतीकरण, सडक पूर्वाधारलगायतका सामाजिक सेवा पु¥याउने उद्देश्यले सरकारले भेरी किनारमा नयाँ कार्यालय स्थापना गरेको बताउनुभयो ।

भेरीको मुहान डोल्पादेखि सुर्खेतको घाटगाउँसम्मको भेरी किनारका जनताका लागि भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको गुर्भाकोट नगरपालिका–९ गुर्भाकोटमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज उद्घाटन गर्नुभएको हो ।

“डोल्पा, जाजरकोट, रुकुम, सल्यान र सुर्खेत जिल्लाका भेरी नदीसँग जोडिएका पालिकामा सडक, विद्युतीकरण, सिँचाइलगायतका सामाजिक सेवाका कार्यहरू गर्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको हो”, कार्यवाहक प्रधानमन्त्री खड्काले भन्नुभयो, “भेरीको पानी बबईमा खस्नुअघिनै भेरी किनारका पालिकामा उद्देश्य अनुसारका कामहरू सम्पन्न गर्छौँ ।”

कार्यवाहक प्रधानमन्त्री खड्काले आयोजनालाई तीव्रताका साथमा अघि बढाउन निर्देशन समेत दिनुभयो । भेरी–बंबई आयोजनासँगै भेरी करिडोर सिँचाइ विकास आयोजना सञ्चालन गरिएको थियो । 

सुरुमा एक सय २५ किलोमिटर क्षेत्रमा काम गर्ने गरेर सुरु गरिएको भएपनि अहिले स्थापना गरिएको कार्यालयले डोल्पादेखि सुर्खेतसम्म काम गर्नेछ ।  कार्यवाहक प्रधानमन्त्री खड्काले निर्वाचनका क्रममा मतदातासँग गरिएका बाचा पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धता दोहोयाउनु भयो  ।  

कार्यवाहक प्रधानमन्त्री खड्काले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न कार्यक्रमहरू सरकारले सञ्चालन गरिरहेको बताउँदै वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको दाबी गर्नुभयो । 

“सरकारले कर्णालीलाई बजेट विनियोजनमा पहिलो प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा कर्णालीको समृद्धिका लागि सरकारले थप पहल गर्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button