तपाईँ सुन्दै हुनुहुन्छः

जहाज खरिद पारदर्शी हुन्छ : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताउनुभएको छ । आज ४४औँ विश्व पर्यटन दिवसका अवसरमा ललितपुरको पाटन दरबार क्षेत्र परिसरमा आयोजित कार्यक्रममा उहाँले बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले निगमको जहाज खरिद गर्न लागेको बताउनुभयो । 

मन्त्री किरातीले भन्नुभयो, “जहाज खरिदका  विषयमा नकारात्मक टिप्पणी भइरहे पनि हामी पारदर्शनपूर्ण ढङ्गले प्रक्रिया अघि बढाइन्छ । कुनै किसिमको अनियमितता नहुनेमा म विश्वास दिलाउँछु ।”

निगमको आन्तरिक उडानका लागि आन्तरिक स्रोतबाटै तीन थान ट्विनअटर जहाज खरिद गर्न लागेको छ । निगमसँग हाल आन्तरिकतर्फ दुई थान ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई थान वाइड बडी र दुई थान न्यारोबडी जहाज छन् ।

पर्यटनमा नीतिगत सुधार अपरिहार्य

पर्यटनमन्त्री सुदन किरातीले विकाससम्बन्धी नीतिलाई संशोधन गरी संस्कृति र प्रकृतिमैत्री बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको प्राकृतिक, भौगोलिक विविधता, हिमशृङ्खला, संस्कृति र सभ्यता विश्वका पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने भन्दै यसबाट लाभ लिनसक्ने गरी ऐन तथा कानून संशोधन आवश्यक भएको बताउनुभयो । 

पर्यटनमन्त्री किरातीले कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रले गति लिने चरणमा रहेको भन्दै आगामी वर्ष लक्ष्यअनुसार पर्यटक आगमन हुनेमा विश्वास व्यक्त गर्नुभयो । “पर्यटन क्षेत्रबाट मुलुकले ठूलो आर्थिक लाभ लिन सक्छ, तर पनि कतिपय विषय हाम्रा प्राथमिकतामा छैनन्”, उहाँले भन्नुभयो, “हामीले पर्यटक ल्याउने मात्रै नभई उनीहरूको बसाइ लम्ब्याउनमा पनि ध्यान दिनुपर्छ ।” उहाँले यसका लागि संस्कृति, प्रकृति र साहसिक क्षेत्रलाई आधार बनाएर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मुलुकको पर्यटन विकासका लागि नेपालको संस्कृति र सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटनसँग जोडेर लैजानुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय एकतालाई बलियो बनाउन पनि विविध संस्कृति र सम्पदाको जगेर्ना गर्न जरुरी रहेको उहाँको भनाइ छ । 

“पर्यावरणमैत्री पर्यटन विकासमार्फत मुलुकको आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्छ । दिगो पर्यटन विकासका लागि नेपालको प्रकृति, संस्कृति, सम्पदा, पर्यावरण, परम्परा, भाषा, जातजातिको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले बोर्डले आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्ने, नयाँ गन्तव्यको अध्ययन र खोज गरी अन्तर्राष्ट्रिय ब्रान्डिङ गरिरहेको बताउनुभयो । उहाँले पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा पर्यटन क्षेत्रमार्फत सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान गरिएको थियो । सोही अवसरमा पर्यटनमन्त्री किरातीले ललितपुर महानगरपालिकाले महानगरभित्रको पर्यटकीय क्षेत्रलाई समेटेर तयार गरेको नक्सा सार्वजनिक गर्नुभयो ।

विश्व पर्यटन दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले ‘पर्यटन र हरित लगानी’ नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेका छन् । दिवसका अवसरमा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्नुभएको थियो । यस्तै ललितपुरको पाटन ढोकादेखि मङ्गलबजारसम्म प्रभातफेरि आयोजना गरिएको छ ।

संस्था र व्यक्ति सम्मानित

सरकारले मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने सेभेन समिट ट्रेक्स प्रालि, सिता वर्ल्ड ट्राभल प्रालि, एभरेष्ट हस्पिटालिटी एन्ड होटल तथा रिसोर्ट, पोखरा अष्ट्रालाई प्रालि छन् । 

साथै नेपाल वायुसेवा निगम, कपिलवस्तुको लुम्बिनी ग्रिन रिसोर्ट, नवलपरासीको अमलटारी होमस्टे पनि सम्मानित भएका छन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ९२ दिनमा आरोहण गरी कीर्तिमान राख्नुभएका क्रिष्टिन हारिला र लामा तेन्जान शेर्पालाई पन सो अवसरमा सम्मान गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button