चामलको बोरामा ब्राउनसुगर राखेर काठमाडौँ पठाउन लाग्दा पक्राउ

भद्रपुर, झापा । चामलको बोरामा लागुऔषध ब्राउनसुगर लुकाएर काठमाडौँ पठाउन लाग्दा झापामा दुईजना पक्राउ परेका छन् ।
मङ्गलवार दिउँसो झापा शिवसताक्षी नगरपालिका–११ दूधेस्थित साकिरा यातायातको काउन्टरमा प्र १–०१–०१३ प ६५८१ नम्बरको स्कुटरमा काठमाडौँ पठाउन भनी चामलको बोरा बोकी आएका सोही स्थानका २९ वर्षीय साजन राई र ३५ वर्षीय सुन्दर लावतीलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा चामलको बोराभित्र लुकाएर पठाउन लागेको ९ ग्राम ७७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्कुटरसहित दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मङ्गलवार नै मेचीनगरका–६ स्थित पुरानो मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड–६ का २० वर्षीय सुजन विश्वकर्मालाई एक ग्राम खैरो हेरोइनसहित पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्