चीन सरकारको सहयोगमा कर्णाली कोरिडोरलाई हिल्सा नाकासम्म जोडिँदै छ: कार्यवाहक प्रधानमन्त्री खड्का

सुर्खेत । कार्यवाहक प्रधानमन्त्रीसमेत रहनु भएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको समृद्धिका लागि महत्वपूर्ण मानिएको कर्णाली करिडोरलाई हिल्सा नाकासम्म जोड्न चीन सरकारसँग सम्झौता भइसकेको बताउनु भएको छ । उहाँले आज सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को चीन भ्रमणमा हिल्सा–सिमिकोट सडक समेत चीन सरकारकै सहयोग बन्ने सम्झौता भइसकेको जानकारी दिनु भएको हो ।
उहाँले मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेत खण्डको बड्डीचौर–बेनीघाट सडक र कोहलपुर–सुर्खेत–दैलेख १३२ केवी विद्युत् प्रसारण लाइनको अवरोध हटाउन सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिई सकेको बताउनु भयो । उपप्रधानमन्त्री खड्काले सुर्खेत विमानस्थलको धावन मार्ग विस्तार कार्य अगाडि बढाउन आवश्यक प्रक्रिया अघि बढिसकेको जनाउनु भयो ।
बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताउँदै उहाँले कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानकै रुपमा सञ्चालन भइरहेको जानकारी दिनु भयो ।
सुशासनको मार्गचित्र कोर्ने कार्यक्रम नै ल्याउन सरकारले अन्तिम गृहकार्य गरिरहेको उहाँको भनाइ थियो । उहाँले संघीय कानुनहरु जुन रफ्तारमा बनाउनुपर्ने थियो त्यो हुन नसक्दा समस्या भएकाले अब सरकार आवश्यक कानुनहरु बनाउने कार्यमा समेत जुटेको बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्