तपाईँ सुन्दै हुनुहुन्छः

वरिष्ठ छाती रोग विशेषज्ञ डा दासलाई नागरिक अभिनन्दन

काठमाडौँ । वरिष्ठ छाती रोग विशेषज्ञ एवं राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक सदस्य डा गौरीशङ्कर लाल दासलाई नागरिक अभिनन्दन गरिएको छ ।

दिव्य शताब्दी पुरुष डा. दासले नेपालको चिकित्सा सेवा, मानवअधिकार, समाज सेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै आज काठमाडौँमा नागरिक स्तरबाट अभिनन्दन गरिएको हो ।

राष्ट्रियसभा गृहमा आयोजित अभिनन्दन समारोहमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले कदर पत्र सहित डा. गौरीशंकर लाल दासलाई अभिनन्दन गर्नुभयो ।

अभिनन्दन समारोहमा कार्यवाहक प्रधानमन्त्री खड्काले लोक कल्याणकारी कार्यमार्फत देश, जनता र समाजको हितका लागि अमूल्य योगदान दिनुहुने डा दासले आफ्नो सेवामार्फत समग्र समाज र देशलाई नै योगदान पुर्‍याउनुभएको बताउनुभयो ।

कार्यक्रममा पूर्व उपराष्ट्रपति परमानन्द झाले दिव्य शताब्दी पुरुष डा. दासको सक्रियताबाट समाजमा सधैँ केही नयाँ गर्नुपर्छ भन्ने सबैले पाठ सिक्नुपर्ने बताउनुभयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकहरू समाजका गहना भएकाले उहाँहरूलाई सम्मान गर्नुपर्ने र उहाँहरूबाट नयाँ पुस्ताले राम्रा कुराहरू अनुसरण गर्न सके सभ्य समाज निर्माणमा मद्दत पुग्ने बताउनुभयो ।

काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्यकर्मीहरूको विदेश पलायन रोक्न राज्यका तर्फबाट प्रभावकारी कदम चाल्नु जरुरी रहेको बताउनुभयो ।

सम्मानित व्यक्तित्व डा दासले आफु देशका लागि सधैँ केही गरिरहनुपर्छ भन्ने भावनाले अनवरत रुपमा लागिरहेको र बाँचुन्जेल लागिरहने बताउनुभयो ।

अभिनन्दन मूल समारोह समितिका संयोजक शङ्करप्रसाद कोइरालाले पाको उमेरमा पनि सामाजिक अभियन्ताको रूपमा सक्रिय डा. दास नयाँ पुस्ताका लागि प्रेरणाको स्रोतका रुपमा रहनुभएको बताउनुभयो ।

नागरिक अभिनन्दनका अवसरमा डा. दासले विभिन्न कालखण्डमा लेख्नुभएका लेख रचनाको सँगालो पुस्तक पनि विमोचन गरिएको थियो ।

वरिष्ठ छाती रोग विशेषज्ञ डा. लाल दास यही असोजबाट एक सय वर्ष पुग्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button