राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा
जनकपुरधाम। राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामको विश्व प्रसिद्ध जानकी मन्दिरमा आज बिहान पूजा अर्चना गरेर प्रसाद ग्रहण गर्नु भएको छ ।
राष्ट्रपति पौडेल जानकी मन्दिरमा पूजा अर्चनाका लागि आइपुग्दा जानकी मन्दिरका मूल महन्थ रामतपेश्वर दास वैष्णव तथा सहायक महन्थ रामरोशन दास वैष्णव सहितका साधुसन्तहरुले स्वागत गर्नु भएको थियो ।

राष्ट्रपति भएपछि पहिलो पटक जनकपुरधामको जानकी मन्दिरमा करिब आधा घण्टासम्म पूजा अर्चना गर्नु भएको छ । विधि पूर्वक मन्दिरका पूँजारीहरुले राष्ट्रपति पौडेललाई पूजा अर्चना गराउनु भएको थियो ।
राष्ट्रपति पौडेलले जानकी मन्दिरमा नै रहेको नेपालको प्रसिद्ध कालीगण्डकीवाट ल्याइएको भगवान् विष्णुको रुपमा रहेको शालीग्रम भगवानको पूजा अर्चना तथा दर्शन गर्नु भयो ।
यसै गरि एक सय वर्ष देखि जानकी मन्दिरमा हुने गरेको श्रीसीताराम सङ्कीर्तनमा पनि सहभागी हुनु भएको थियो । जानकी मन्दिरको पूजापाठमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, पूर्वमन्त्री विमलेन्द्र निधि तथा प्रतिनिधि सभाका सदस्य जुली कुमारी महतो सहभागी हुनु भएको थियो ।

यस अघि पौडेल नेपाली सेनाको विशेष विमानबाट जनकपुर विमान स्थलमा आइपुग्दा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, प्रदेश सरकारका पर्यटनमन्त्री सुनिता यादव, पूर्वमन्त्री विमलेन्द्र निधि, जुली कुमारी महतो, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे सहितका सुरक्षा अधिकारी, राजनीतिक दलका नेताहरू तथा नागरिक समाजका व्यक्तिहरूले स्वागत गर्नु भएको थियो ।

आजै राष्ट्रपति पौडेलको सम्मानमा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले आयोजना गर्नु भएको चियापान कार्यक्रममा सहभागी हुनु भएको छ । सो कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव, मधेश प्रदेश सरकारका मन्त्रीहरू सहभागी हुनु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्