त्रासमा मलङ्गवावासी, कर्फ्यु कायमै
सर्लाही । सर्लाही सदरमुकाम मलंगवा यति बेला सुनसान छ । स्थानीय दुई समुदायको विवादलाई लिएर मलंगवा केही दिनदेखि त्रासमा बाचिरहेको छ । दुई समुदायको दङ्गालाई लिएर मलंगवाका स्थानीयहरू घरमा ताल्चा लगाइ आ–आफ्नो नातेदारको शरणमा गएका छन् । गणेश मूर्ति सेलाउन लगिरहेको बेला बिहीबार साँझ दुई समुदायबीच भएको झडप तथा विवादले उग्ररुप लिएपछि मलंगवा नगरपालिकामा बिहीबार राती १० बजेदेखि लगाइएको कर्फ्यु निरन्तर रुपमा जारी छ । कर्फ्यु लागेको आज चौथो दिन भएपनि दङ्गा नियन्त्रण हुन सकेको छैन । ठाँउठाँउमा प्रहरी प्रचलित भएपनि तोडफोड लगायतको अन्य हिंसात्मक गतिविधि भने रोकिएका छैनन् ।
मलंगवा नगरपालिका वडा नं. ४ का स्थानीय एक महिलाका अनुसार राती सुत्ने समयमा मुसलिम समुदायका करिब ५० जनाको समूहमा आएको हतियारधारी समूहका केटाहरू आएपछि हिन्दु समुदायका व्यक्तिहरूको भागाभाग भएको थियो । ती हतियारधारी समूहको हातमा तलवार, खुकुरी लगायतको हतियार रहेको प्रत्यक्षदर्शीहरुले बताउनुभयो । हतियारधारी समूहले वडा नं. ४ बस्ने अजय ठाकुर, बिकाउ यादव र वडा नं. ३ का दर्जनौँ घरमा तोडफोड गरेको एक प्रत्यक्षदर्शीले जानकारी दिनुभयो ।
हतियारधारीको समूहले घरको ढोका, ग्रील, झयालहरु फुटाएको स्थानीयहरूको भनाई छ । गए साँझ वडा नं. ४ स्थित नसिर र नुर हसन भन्ने व्यक्तिले खसी काटेर भोज भतेर गरी भारतबाट बोलाइएको उत्श्रृङख्ल मुस्लिम केटाहरू र मलंगवाका युवाहरू मिली हिन्दुहरूको घर घर गएर तोडफोड गरेको स्थानीयहरू बताउँछन् । गए राती परालको टालमा आगलागी गरेर मुस्लिम समुदायले हतियार सहित दङ्गा गरेपछि अहिले धेरै जसो स्थानीय घर छोडेर अन्यत्र गएका छन् । अहिले पुरै बस्ती खाली भएको स्थानीयहरू बताउँछन् ।
आइतबार बिहान पनि वडा नं. ४ स्थित एक जनाको मोटरसाइकलमा आगजनी भएको छ । यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी दिपेन्द्र पजियारले भने मलंगवाको अवस्था सामान्य भएको दाबी गर्नुभयो । सामाजिक सञ्जालमा यो विषयलाई लिएर अनावश्यक टिक्काटिप्पणी भइरहेको उहाँले बताउनुभयो । उहाँले घर जलाएको घटनामा कुनै सत्यता नभएको र सामाजिक सदभाव कायम राख्न सबैमा आग्रह गर्नुभयो ।
मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र रायले यो दुई पक्षको विवाद नभएर केही उत्श्रृङख्ल व्यक्तिहरूको भएको बताउनुभयो । आफूहरू समस्या समाधान गर्न दुई पक्षकै अगुवाहरूको बैठक बसी स्थिति सामान्य बनाउनु लागि परेको उहाँले बताउनुभयो ।
यता मधेश प्रदेशका प्रदेश सभा सदस्य कौशल किशोर रायले भने यत्रो ठुलो घटना भइसक्दा पनि प्रहरी प्रशासन मुकदर्शक भएर बस्नु दुखद भएको बताउनुभयो । उहाँले यो दुई समुदाय भन्दा पनि केही उत्श्रृङख्ल व्यक्तिहरूको दङ्गा फैलाउने काम भएकोले ती व्यक्तिलाई कारबाही गरे अवस्था सामान्य हुने बताउनुभयो । प्रदेश सभा सदस्य रायले केही उत्श्रृङख्ल व्यक्तिहरूको काम भएकोले यस्ता घटनामा नलाई सामाजिक सद्भाव कायम गर्न सम्पूर्णमा आग्रह समेत गर्नुभयो ।
स्थानीय प्रशासनले मलङ्गवा नगरपालिकाको पूर्वमा झिम नदी, पश्चिमा मुसैली नहर, उत्तरमा प्रहरी चौकी र दक्षिणीमा नेपाल–भारत सीमा क्षेत्रभित्र कर्फ्यु लगाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
यसैगरी घाइते रुपेश यादवलाई चक्कु प्रहार गरेको अभियुक्त मोहमद अजमद मिकरानीलाई प्रहरीले पक्राउ गरेको छ । मोहमद सहित करिब ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । झडपमा परी प्रहरीसहित करिब ८ जना घाइते भएका थिए जसमध्ये मलंगवा निवासी रुपेश यादव गम्भीर घाइते भएका थिए । गम्भीर घाइते यादवको वीरगन्ज उपचार भइरहेको र उनको अवस्था खतरामुक्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दिपेन्द्र पजियारले जानकारी दिनुभयो ।
सदरमुकाम मलंगवामा अहिले प्रहरीको बाक्लो उपस्थिति रहेको छ । सर्लाही सदरमुकाम मलंगवा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु उलङ्घन गर्दै स्थानीय शुक्रवार प्रदर्शनमा उत्रिएका थिए । स्थानीयले जिल्ला प्रशासन कार्यालय मलंगवामा समेत ढुङ्गामुडा गरेका थिए । कर्फ्यु उलङ्घन गरि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई हटाउन प्रहरीले करिब २३ सेल अश्रुग्याँस प्रहार तथा केही राउण्ड हवाई फायर समेत गरेको थियो । यसैगरी शुक्रवार नै दुई पक्ष बिचको झडपलाई सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सर्वपक्षीय बैठक पनि गरिएको थियो । सर्वपक्षीय बैठकले घटनाको सूक्ष्म रुपमा गहन समीक्षा गर्ने, सत्यतथ्य पता लगाई घटनाको दोषीलाई पक्राउ गरी हदै सम कारबाही गर्ने, ब्रह्मपुरी गाउँपालिकामा तोडफोड गर्ने अराजक तत्त्वलाई पहिचान गरी कारबाही गर्ने , घटना घटाइ मानवीय क्षति पु¥याउने व्यक्ति पहिचान गरी निजबाट क्षतिपूर्ति गराउने, आगामी दिनमा यस प्रकारका घटनाको पुनरावृत्ति हुन नदिन सबै पक्षबाट गम्भीरता पूर्वक आ आफ्नो दायित्व निर्वाह गर्ने लगायतको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्