गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले गरे सम्पत्ति विवरण सार्वजनिक
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्का सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने आचारसंहिता गण्डकी प्रदेश सरकारले बनाएको थियो तर नियुक्त भएको धेरै लामो समयपछि मन्त्रिपरिषद्का सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखामा ५ रोपनी १० आना १ दाम जग्गा र घर,काठमाडौं मा २ सय १२ वर्गमिटरमा घरजग्गा रहेको देखाउनुभएको छ । यसको स्रोत पैतृक सम्पत्ति भएको बताउनुभएको छ । उहाँ सँग ४२ तोला सुन, ५ सय तोला चाँदी र २ सेट हिरा रहेको छ ।
एभरेस्ट बैंकमा २४ लाख ९६ हजार मौज्दात रहेको मुख्यमन्त्री पाण्डेले खुलाउनुभएको छ । पत्नी विना पाण्डेको नाममा प्रभु बैंकमा ६० लाख रुपैयाँ तलब तथा उपदानमार्फत जम्मा गरेको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री पाण्डेको श्रीमतीको नाममा नगद तथा बैंकबाट ऋणसमेत गरी ६२ लाख रुपैयाँमा कार खरिद गरेको उल्लेख पनि गर्नुभएको छ ।
सामाजिक विकास मन्त्री सुशीला सिंखडाले दाइ विष्णु सिम्खडाको नाममा पुर्ख्यौली जग्गा रहेको र नवलपुरको गैंडाकोटमा १५ लाख रुपैयाँमा खरिद गरेको ६ हजार ३ सय ९५ वर्ग मिटर जग्गा रहेको देखाउनुभएको छ । त्यस्तै ६ सय ४ वर्ग मिटर, ललितपुर गोदावरी–३ मा जग्गा किनेको र श्रीमान जनकबहादुर बुढाको नाममा जुम्ला तातोपानी गाउँपालिका २ मा पुर्ख्यौली घर सम्पत्ति रहेको उहाँले बताउनुभएको छ । उहाँले विभिन्न बैंकमा १ लाख ७० हजार मौज्दात रहेको बताउनुभएको छ ।
त्यस्तै सरकारका प्रवक्ता तथा ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले स्याङ्जा वालिङ नगरपालिका–८ मा पुर्ख्यौली घरजग्गा रहेको र
२३ लाख नगद, २२ तोला सुन, ४० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । ९५ लाख रुपैयाँ ऋण लिएको देखाउनुभएकी अर्यालले २ लाख ८५ हजार बराबरको विभिन्न सहकारी, रेडियो, जलविद्युत आयोजनामा सेयर रहेको बताउनुभएको छ ।
भौतिक पूर्वाधार,शहरी तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले ट्याक्टर र स्काभेटर रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । उहाँ सँग म्याग्दी मालिका गाउँपालिकामा २ वटा घर छ । मालिकामै आफ्नो नाममा १५ रोपनी जग्गा र बाबु खड्गबहादुर जुग्जालीको नाममा ३५ रोपनी जग्गा रहेको बताउनुभएको छ । उहाँ सँग ७ तोला सुन,गरिमा विकास बैंकमा व्यवसाय र तलबबाट ६ लाख ४० हजार र प्रभु बैंकमा ५० हजार व्यवसायबाट प्राप्त रकम जम्मा गरेको उल्लेख छ । मन्त्री जुग्जालीले ६० लाख रुपैयाँ ऋण रहेको उल्लेख गर्नुभएको छ । हाइड्रो एम्पाएर प्रालिमा २५ लाखको सेयर ऋणमा खरिद गरेको उल्लेख छ ।
कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले नवलपुरमा १ रोपनी ७ आना १५ दाम जग्गा र साढे २ तलाको घर रहेको उल्लेख गर्नुभएको छ । बर्दघाटमा १३ कित्तामा ५ हजार २१ दशमलव ५४ वर्गमिटरभन्दा धेरै पैतृक जग्गा रहेको उहाँले देखाउनुभएको छ । कृषिमन्त्री जिसीसँग ४० तोला सुन र २० तोला चाँदी छ । यो सबै पैतृक सम्पत्ति भएको उल्लेख छ ।
अर्थमन्त्री जीतप्रकाश आलेले भीमाद नगरपालिका–६ मा पुर्ख्यौली घरजग्गा रहेको, आफ्नो र सगोलमा गरेर भीमाद वडा नम्बर ५ मा ३० वटा कित्तामा जग्गा रहेको,कामना सहकारीमा ३ लाख र कृषि विकास बैंकमा ३३ सय शेयर रहेको बताउनुभएको छ । पैतृक सम्पत्तिकै रुपमा २१ तोला सुन र २७ तोला चाँदी रहेको अर्थमन्त्री आलेले सम्पत्ति विवरणमा देखाउनुभएको छ । आफ्नो नाममा निजी वन रहेको देखाएका अर्थमन्त्री आलेले ३४ लाख ७० हजार रुपैयाँ बैंकबाट ऋण लिएको खुलाउनुभएको छ । उहाँ सँग ३३ हजार रुपैयाँमा खरिद गरेको लाइसेन्स प्राप्त एक नाले १२ बोर बन्दुक पनि रहेको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापासँग जीप, ट्याक्टर, र फार्मेसी पसल छ । थापाको बागलुङ नगरपालिका ३ मा घरजग्गा छ । थापाले कास्कीमा ५० लाख र ६० लाख रुपैयाँमा २ कित्ता जग्गा खरिद गरेको उल्लेख गर्नुभएको छ । थापासँग १७ तोला सुन, २ केजी चाँदी छ भने २ लाख २५ हजार नगद मौज्दात छ । कम्पनीमा व्यापार नोकरीबाट १४ लाख ६६ हजार रुपैयाँ सेयर रहेको देखाउनुभएका मन्त्री थापाले ३७ लाख रुपैयाँ ऋण लिएको उल्लेख गर्नुभएको छ । उहाँ सँग पिकअप गाडी र रसियन बेलारुसी ट्याक्टर पनि छ ।








प्रतिक्रिया राख्नुहोस्