तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादवसँग राजदूत पार्कको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टाईयोङले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपति कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

भेटमा दुई देशबीचका द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विविध आयामबारे छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९७४ मा नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भए पनि दुई देशबीच घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध निकै पुरानो रहेको बताउनुभयो ।

उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको बताउनुभयो ।

उहाँले नेपालमा पछिल्लो समयमा लगानीमैत्री वातावरण बन्दै गएकाले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकास लगायत उत्पादनमूलक र अन्य क्षेत्रमा खुलेर सहयोग एवं लगानी गर्न कोरिया सरकारलाई राजदूतमार्फत आग्रह गर्नुभयो ।

उपराष्ट्रपतिले औद्योगिक विकास, कृषि, जलविद्युत् विकासको लागि कोरियाको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहेको बताउनुभयो । उहाँले दुई देशबीचको जनस्तरको सम्बन्ध प्रगाढ भएको भन्दै नेपाल मन पराउने बौद्धमार्गी कोरियालीमा उल्लेख्य रहेको जनाउनुभयो ।

भेटमा राजदूत पार्कले आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button