तपाईँ सुन्दै हुनुहुन्छः

घाँटी रेटिएको अवस्थामा जगरनाथपुरबाट महिलाको शव बरामद

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ ।

जगरनाथपुर गाउँपालिका – ५ मसियानिमा बस्ने अन्दाजी ४० वर्षीय कान्ति देवी मुखिया बिनको आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा शव बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार मङ्गलवार अपराह्न पाँच बजेको करिबमा घाँटी रेटिएको अवस्थामा बिनको शव उनकै घरबाट बरामद भएको थियो । अर्धनग्न अवस्थामा मृत भेटिएकी बिनको टाउकोमा पनि चोटपटक लागेको छ ।

बिनको दुई जना छोरा र तिन छोरी छन् । यद्यपि छोरीहरूको विवाह भएको छ भने कामको सिलसिलामा एक जना छोरा विदेश र अर्का छोरा हेटौँडा बस्दै आएका छन् । घरमा बिन एक्लै बस्दै आएको इन्स्पेक्टर केसीले जानकारी दिए । 

मृतक बिनलाई दिउँसो वरिपरि नदेखेपछि उनलाई खोज्दै घर पुगेकी छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय पोखरियाबाट एउटा प्रहरी टोली पुगेको थियो ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा बिनको शव भेटिएको थियो । शवको प्रकृति जाँच मुचुल्का तयार गरी थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर केसीले बताए । उनको शव पोस्टमार्टमका लागि हाल वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको छ ।

प्रहरीले घटनास्थलमा बिनको टाउकोमा प्रहार गर्न प्रयोग भएको हुनसक्ने एउटा बाँसको भाटा पनि बरामद गरेको छ । शङ्काको आधारमा केही व्यक्तिमाथि प्रहरीले निगरानी पनि बढाएको इन्स्पेक्टर केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button