सर्लाहीमा तीजको रौनक, मधेशी समुदायकी महिला पनि तीज मनाउँदै
सर्लाही । आज महिलाहरूको महान् चाड हरितालिका तीज पर्व, हिन्दु नारीहरूले उपवास बसी, पुजाआरधना गरी मनाउदैछन । आज बिहानदेखि सर्लाहीको शिवालयहरू महिलाहरूले खचाखच भरिभराउ भएको छ ।

महिलाहरूले सर्लाहीको लालबन्दी नगरपालिका स्थित डुमडुमे मन्दिर परिसरमा रहेको शिवालय, हरिवन नगरपालिकामा रहेको चतुरभुजेश्वर महादेव मन्दिर, बरहथवा नगरपालिकामा रहेको मुर्तिया स्थित रहेको शिवालय, हरिपुपर नगरपालिका स्थित चिताइनमा रहेको शिवालय तथा मलंगवा नगरपालिकामा रहेको शिवालय लगायत जिल्लाभरिको शिवालयमा हरितालिका तीज पर्व, मनाउन बिहानदेखि नै महिलाहरू पूजा गर्न लामबद्ध रुपमा बसी पूजा गरिरहेकी छन् । पछिल्लो समय हरितालिका तीजको रौनक मधेशी मूलको महिलाहरूमा पनि छाएको छ । तीज दुई विभिन्न समुदायको साझा पर्व बन्दै गइरहेको बर्तालु महिला अनिता साहले बताउनुभयो ।

यो पर्वमा भगवान् शिवका पूजा आराधना गरिनुका साथै नाचगानसमेत गरेर मनाइन्छ । नेपाली हिन्दु महिलाहरूले स्वतन्त्र र आनन्दमय रुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि मनाउन थालेका छन् मलंगवा नगरपालिका बस्ने सञ्चारकर्मी मिरा रानीले जानकारी दिनुभयो ।
खास गरी यसमा विवाहित महिलाहरूले पतिको दीर्घायु तथा अविवाहित महिलाले असल श्रीमान् प्राप्तिका निम्ति निराहार रहेर भगवान् शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन्, लालबन्दी नगरपालिका निवासी तुलसा अधिकारीले बताउनुभयो । यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन् ।
बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला बर्त भनिए पनि आजभोलि महिलाहरू मध्यान्हमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने पनि गर्दछन् । कतिपय महिलाहरू नजिक रहेको शिव मन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन् । सर्लाहीका अधिकांश शिवमन्दिरहरुमा अहिले महिलाहरूले नाचगान तथा भजन कीर्तन गरी रहेका छन् ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार बर्त बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो ।

सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको लालबन्दी नगरपालिका वडा नं. ७ स्थित गुरुकलम्का प्राचार्य अच्युतम दाहालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्