‘देश बनाउने अभियान मजबुत बनाउन कांग्रेस एकजुट हुनुपर्छ’
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाज रूपान्तरण गर्न र देश बनाउने अभियानलाई मजबुत बनाउन कांग्रेस एकजुट हुनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय सम्मेलन एवं तीज मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वडा, गाउँ, नगर, क्षेत्र आदि सशक्त भएमा देश आफैँ बन्ने र पार्टी पनि मजबुत हुने बताउनुभयो ।

महामन्त्री शर्माले राजनीतिक उपलब्धिको स्थायित्व र समाज रूपान्तरणका लागि कांग्रेस अभियानलाई बढाउन जरुरी रहेको बताउनुभयो । “चुनाव हार्नु र जित्नु सामान्य प्रक्रिया हो”, उहाँले भन्नुभयो, “तर देश बनाउन र समाज रूपान्तरण गर्न कांग्रेस अभियान मजबुत बन्नुपर्छ ।”
संविधान निर्माण र राजनीतिक उपलब्धि हात पार्ने कुरामा नेपाली काँग्रेसले सधैँ नेतृत्वदायी भूमिका खेलेको बताउँदै शर्माले प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारी पनि काँग्रेसकै काँधमा रहेको उल्लेख गर्नुभयो ।
राम्रा कामको अनुकरण र प्रशंसा जुनसुकै दलबाट गर्न सकिने बताउँदै महामन्त्री शर्माले संविधान निर्माणका क्रममा तत्कालीन सभामुख सुवास नेम्वाङको शालीनता र भद्रताको प्रशंसा गर्दै उहाँको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्