ट्रायल पास गरेको ३ दिनभित्र लाइसेन्स दिने व्यवस्था गरिँदै : मन्त्री ज्वाला

सल्यान । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दोस्रो पटक गृह जिल्ला आउनुभएका मन्त्री प्रकाश ज्वालाले आफूहरूले गरेको कामको नतिजा देखिन थालेको बताउनुभएको छ ।
बिहीबार नेपाल पत्रकार महासङ्घ सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्वालाले तत्काल सडक ऐन ल्याउने र सडक वर्गीकरण गरिने बताउनुभयो । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कुन स्तरको तथा कति बजेट सम्मको सडकको काम गर्ने भन्नेबारे स्पष्ट वर्गीकरण गरिने उहाँले बताउनुभयो । यसबारे कार्यदलले प्रतिवेदन दिइसकेको मन्त्री ज्वालाको भनाई छ । राप्ती राजमार्गको सुधारको केही काम भएको उल्लेख गर्दै उहाँले आफ्नै कार्यकालमा यस राजमार्गको स्तरवृद्धिको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पत्रकार महासङ्घ सल्यानका कार्यवाहक अध्यक्ष शङ्कर केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विगतमा अस्तव्यस्त रहेको यातायात व्यवस्थाको क्षेत्रका व्यथिती हटाउन केही काम अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि सवारी चालक अनुमति पत्रका लागि परीक्षा पास गरेका ११ लाख जतिले स्मार्ट लाइसेन्स पाउन सकिरहेका छैनन् । यो समस्या समाधानको लागि डिजीको पनि व्यवस्था गरेका छौँ, आइटी निर्देशक पनि ल्याइसकेका छौँ ।’
ट्रायल पास गरेको ३ दिनभित्र लाइसेन्स हात पर्नेगरी काम अघि बढाइने उहाँको दाबी छ । यातायात क्षेत्रमा विचौलियाको बिगबिगी अन्त्य गर्न अनलाइन प्रणाली सुरु गरिसकेको भन्दै उहाँले एक महिनाभित्र देशैभरि अनलाइन प्रणाली कार्यान्वयनमा आउने जनाउनुभयो । सल्यानबाट यातायात सम्बन्धी राजस्व बुझाउन सुर्खेत तथा दाङ जानुपर्ने अवस्थालाई सम्बोधन गर्न तत्कालको लागि सल्यानमा राजस्व काउण्टर स्थापना गर्ने टुङ्गो लागिसकेको पनि मन्त्री ज्वालाले बताउनुभयो ।
असोज ३ गते संविधान दिवसको अवसर पारेर धुलो, हिलो र जाम रहित राजधानी बनाउनका लागि महत्वपूर्ण कार्यक्रम सुरु गर्न लागेको पनि उहाँले जानकारी गराउनुभयो । ज्वालाका अनुसार राजधानी काठमाडौँमा द्रुत बस सेवा सञ्चालन गर्ने तयारी छ । पहिलो चरणमा रत्नपार्क देखी सूर्यविनायक सम्म बिहान २ घण्टा र बेलुकी २ घण्टा द्रुत बस सेवा सञ्चालन हुनेछ । द्रुत बस सेवामा जोडिएका गाडिमात्रै सञ्चालनका लागि छुट्टै सडक लेनको व्यवस्था हुने र यसले जाम पनि नहुने र निकै छोटो समयमा यात्रुहरू गन्तव्यमा पुग्न सक्ने यातायात मन्त्री ज्वालाको अपेक्षा छ ।
आफ्नो मन्त्रालय विभिन्न सेटिङ, बिचौलिया, मिलेमतो र अनुचित सम्बन्धको घेराभित्र रहेकोमा यस्ता विषयमा प्रश्न नउठ्ने गरी काम अघि बढाइएको उहाँले बताउनुभयो । मन्त्री ज्वालाले भन्नुभयो, ‘राजनीतिक र प्रशासनिक नेतृत्वलाई प्रभावित पार्ने क्रियाकलाप रोकिएको छ । योजना अलपत्र पर्ने तर व्यक्ति मोटाउने रोग पनि एक किसिमले समाधान गरेका छौँ ।’ पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य उदय बहादुर वोहरा लगायतको पनि सहभागिता थियो । पत्रकार सम्मेलन कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासङ्घ सल्यानका सचिव टिकाराम भण्डारीले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्