तपाईँ सुन्दै हुनुहुन्छः

आधुनिकताको नाममा भड्किलो तिज

बाँके । हिन्दु धर्मावलम्बी महिला दिदीबहिनीहरूले दुख सुखको पोको खोलेर मनाउने हरितालिका तिज हिजो आज भड्किलो बन्दै गएको छ। 

सामाजिकीकरणको नाम दिएर महिनौँ देखि दर खाने संस्कार विकसित हुँदै गएको छ। जसले गर्दा हुनेखाने परिवार र हुँदा खाने परिवारबीच बेमेल बढ्ने प्रचलन वृद्धि भएको छ। तिज तिज जस्तो नभएर पाटी जस्तो हुँदै गएको छ। यसरी एक महिना देखि दर खाइरहँदा हुने खाने महिला दिदीबहिनीहरूलाई रमाइलो लागेपनी आर्थिक विपन्न भएका महिला दिदीबहिनीहरूलाई भने पक्कै पनि नरमाइलो लाग्न सक्छ।

कोहलपुर १२ चपरगौडी बस्ने ७० वर्षीया भवानी पौडेल आमाले आजभोलिको तिज देखेर निकै उदेक लाग्ने गरेको बताउनु हुन्छ। उहाँले आफ्नो पालामा हिन्दु महिला दिदीबहिनीहरुले मनाउने हरितालिका तिज माइतीगाउँका साथिसङ्गी र आमा दिदीबहिनीसँग आफ्ना वर्षभरिका दुख पोख्ने अनि सुख साट्ने गरेर मनाउने गरिन्थ्यो । तिजको अघिल्लो दिन घिउ हालेर अनदिको लट्टे अनदी नभए घिउ हालेर पकाएको भात , तामाको तरकारी अनि काँक्रोको अचार राती अबेर सम्म गीत गाएर नाचेर खाने गरिन्थ्यो तर हिजो आज आधुनिकताको नाममा तिज एक महिना अगाडि बाट मौलिक परम्परालाई बिर्सँदै भड्किलो बनाइएको छ ।

तिजको दर महिनै भर खाने गर्दा हुँदा खाने विपन्न परिवारहरूको लागि चाडपर्व ग्रहदशा जस्तै भएको बताउनु हुन्छ। तिजको अघिल्लो दिन तिउरीको पात पिसेर हातभरि खुट्टा भरी दल्ने चलन हुन्थ्यो राम्रो देखिन भन्दा पनि बर्खा भरी खेत रोपेर गोडेका हात खुट्टा हिलोले खाएका हुन्थे ती हातखुट्टालाई शीतल होस भनेर तिउरो पिसेर लगाउने गरेको हिजो आज जस्तो मेहन्दीको चलन नभएको बताउनु हुन्छ।

उहाँले नागपन्चमी बाट चाडपर्वलाई स्वागत गरेपनी जनैपूणिर्माबाट दिनभर काम गरेर थाकेका दिदीबहिनीहरू गाउँमा जम्मा भएर गीत मार्फत वेदनाको पोको खोलेर गीत मार्फत पोख्ने गर्थ्यौ अनि कहिले कसको घरमा कहिले कसको घरमा पालो लगाएर नाच्ने गाउने गर्थ्यौ पहिले अहिले जस्तो डेग नभएको र तिज भड्किलो नभएको नाच्ने गाउने अगाडिबाट गरेपनी दर भने दरखाने दिनमा मात्र खाने गरेको बताउनु भयो।

यस्तै कोहलपुर १२ कै तारा बगालेले अहिलेको तिज आफ्नी आमाहरूको समयको जस्तो नभएको बताउनु हुन्छ। हुने खानेले पाटिप्यालेस , होटेल रिसोर्ट बुक गरेर धेरै खर्च गर्ने भड्किला गीत बजाउने महँगा कपडा गरगहना पर्दशन गर्ने जस्ता कार्यले मौलिक तिजलाई बिर्साउँदै गएको बताउनु हुन्छ। पहिले पहिले तिजको नाचगान गर्न चारगाउ पारिसम्म पुग्ने गरेको तर आजकल यी सबै कुरा हराउँदै गएको छ। पछिल्लो पुस्ताले झन तिज पर्वको महत्त्व नै बिर्सँदै गएको अवस्था छ। हामीले सम्म तिज भन्ने हाम्रो पर्व थियो भन्ने जानकारी पाएका छौ तर अबको पुस्ताले यी सब बिर्सँदै जान सक्ने गुनासो पोख्नु भएको छ। हामी सानो सानो छदा मादल बजेको सुन्ने बित्तिकै हतार हतार काम सकेर नाच्न गाउन पुग्थेउ तर आजभोलि सबै सामाजिक सञ्जालमै व्यस्त हुने गर्दा आफ्नो रीतिरिवाज परम्परा र संस्कृतिलाई बिर्सँदै गएको आफूलाई आभास भएको बताउनु हुन्छ।

यस्तै सस्कृतविद प्रा। डा बेदमणी भट्टराईले तिजको दरमा शुद्ध भोजन गर्नु पर्ने तर आजभोलि खाने दरमा सबै खानेकुरा अटाउन थालेका छन् शाकाहारी भन्दा मान्साहारीलाई नै बढी प्राथमिकता दिएको बताउनु हुन्छ। ।

उहाँले तिजको दर कहिले र के का लागि खाने भन्दा पनि देखावटी रुपमा जे पनि खाने प्रचलन मौलाउँदै गएको छ । जुन हाम्रो हिन्दु धर्म संस्कार विपरीत भएको बताउनु हुन्छ।

उहाँले तिजको दर व्रत बस्ने दिनको अघिल्लो दिन खाने परम्परा हो । तिजको दिन व्रतको साथै नाचगान पूजापाठ लगायतका क्रियाकलाप गर्न शरीरलाई शक्ति आवश्यकता पर्ने हुँदा अघिल्लो दिन शरीरलाई लामो समयसम्म आड दिने खानेकुरा खानुलाई दरखाने भनिएको हो । तर परम्परा विपरीत तिज आउनु महिना दिन अगाडी नै दरखाने चलनले समाजलाई भड्काउने गरेको तर्क भट्टराईको रहेको छ।

यस्तै संस्कृति संरक्षण समिति कोहलपुर १२ बाँकेका अध्यक्ष भुपेन्द्र सुबेदीले पहिलेको तिजमा मानिसहरूलाई तिज कसरी मनाउने भन्ने चिन्ता हुन्थ्यो उ बेला यसरी खर्चिलो र भड्किलो गरेर नमनाउने दाजुभाइले मादल बजाउन मुरली बजाउन सहयोग गर्ने दिदीबहिनी आमाहरू बसेर दुःखसुखका गीत गाउने प्रचलन थियो अहिले पश्चिमा संस्कृतिले हाम्रो मौलिक परम्परा र सस्कृतिलाई मासेको बताउनु हुन्छ। उति बेलाको समयमा स्रोत साधनको अभाव थियो, सडकको बिस्तार थिएन, यातायातका साधन थिएनन् विवाह भएर गएका छोरी चेलीहरूको माइत आउने र जमघट हुने भनेकै तिजको अवसरमा थियो भने कतिपय त पारिवारिक जिम्मेवारीका कारण तिजमा पनि माइत जान नपाउने बाध्यता समाजमा थियो, त्यति बेला त्यही परिवेशका दुख पिडा, वेदनाका गीतहरू गाइन्थ्यो ।

तर अहिले आएर तिज पर्वको परिभाषा नै फेरिएको छ, यसको मौलिकता धरापमा परेको छ । बर्षायामको पानीले च्याउ उमारेझैँ गायक गायिका उमार्ने पर्व बनेको छ तीज, वर्षभरी नाक मुख नदेखाउने नाम नै नसुनेका कलाकारहरू पनि सके आफू नाङ्गिएर नसके शब्दलाई नङ्ग्याएर त्यो पनि नसके सिङ्गो संस्कृति नङ्ग्याएर आफू हिट हुने मेलो बनाइरहेका छन् । व्यापार र आफ्नो क्षणिक चर्चाको लागि परम्परा र संस्कृतिलाई छाडा रुपमा प्रयोग गरेर पर्वको संवेदनालाई महत्त्वहीन बनाइँदै गएको गुनासो व्यक्त गर्नुभएको छ ।

उहाँले आजकल मानिसले पैसाको महत्त्वलाई नबुझेर जथाभाबी खर्च गर्ने आफ्ना छोराछोरीलाई आफ्नो रीतिरिवाज सस कृती परम्परा र चाडपर्वको महत्त्व नबुझाउनाले सस कृती बिर्सँदै जाने गरेको बताउनु भएको छ। उहाँले हामीले हाम्रो सस कृती र परम्परालाई पुस्तौपुस्तासम्म बचाइराख्न थोरै भए पनि सहयोग पुगोस् भनेर सस कृती संरक्षण समिति गठन गर्दै विभिन्न कार्यक्रम गर्दै आइरहेको समेत जानकारी गराउनु भएको छ।

हरेक कुरा समयसँग परिमार्जन हुन जरुरी छ तर परिमार्जनको सिलसिलामा आफ्नो विषयवस्तुको मान्यता नै विचलित हुने गरी परिमार्जन गर्नु कतिको जायज हो ।

समय बदलियो र समयसँगै महिलाको जीवन जिउने शैली बदलियो । शोषण र दासता हट्दै गए । महिलामा आधुनिकता छायो तर आधुनिकताका नाउमा तिजको रौनक पनि उत्ताउलो र तडक भडक हुँदै गएको छ ।अहिले त भन्न सक्छौ त्यो पुरानो तिजको स्वाद बदलिएर पुरै फरक भएको छ । अबका पुस्ताले खास तिज के हो भन्ने कुराको समेत पत्तो नपाउने परिस्थितिको सिर्जना हुँदै छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

तीज पर्वको पौराणिक, सामाजिक र सांस्कृतिक महत्त्व हुँदाहुँदै पनि निराहार बर्त बसेर श्रीमानको आयु लामो हुन्छ भन्ने मान्यता अन्धविश्वास हो भन्दै क्रान्तिकारी भावहरू पनि प्रकट हुन थालेका छन् तर बर्त बस्ने सन्दर्भमा यस्ता विरोध गरे तापनि तिनै महिला दिदीबहिनीहरू महिनौँ अगाडिदेखि पार्टी प्यालेसहरूमा दरको नाममा मासु बियर खाने, सामाजिक सञ्जालमा पोष्ट गर्नकै लागि भएपनि नयाँ नयाँ सारी र गहनाहरू लगाउने, भेला भएर दुख साटासाट र रमाइलो गर्न भन्दा पनि लवाई खवाई र बिलासी, देखावटी रुपमा फेसबुक र टिकटकका लागि कन्टेन्ट बनाउने प्रतिस्पर्धामा नै उत्रेको भान हुन्छ जसले हाम्रो मौलिक तिजलाई आधुनिक भन्दा बढी भड्किलो र भद्दा बनाउँदै गएको छ ।

र अन्तमा समय सापेक्ष परिवर्तन हरेक कुरामा आवश्यक पर्छ र सस कृती र परम्परासँग गाँसिएको पर्वलाई मौलिकता नै बिर्सने गरि मनाइनु विकृति हो । चाडपर्व के धनी के गरिब सबैले मनाउन सक्ने हुनु पर्छ। भड्किला गतिविधिले समाजमा पार्ने नकारात्मक प्रभाव बारे सबै संवेदनशील हुनु आवश्यक छ। हामीले हाम्रो संस्कृति परम्परालाई आफूमा मात्रा सीमित नराखेर संस्कृतिको महत्त्व पछिल्लो पुस्तामा पनि हस्तान्तरण गर्दै लैजानु पर्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button