स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्न सके आर्थिक विकास हुन्छ : मन्त्री गुरुङ
पोखरा । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्न सके आर्थिक विकास गर्न सकिने बताउनुभएको छ ।

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) द्वारा महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखरामा आयोजित तिज सांस्कृतिक महोत्सवको सोमबार पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्न सके नेपालको आर्थिक विकास र समृद्धि हुने बताउनुभयो ।
तिज पर्वलाई उत्पादनशील ढङ्गबाट मनाउन आग्रह गर्दै उहाँले टेवानको उक्त महोत्सवको अभियानले सबैलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा गण्डकी प्रदेशका अधिकांश जिल्लाबाट हस्तकला तथा पाक कलाका स्टलहरू राखिनु आफैँमा नमुना महोत्सव भएको मन्त्री गुरुङले जनाउनुभयो । नेपाली काँग्रेसका उपसभापति समेत रहनुभएका मन्त्री गुरुङ कार्यक्रममा तिजको गीतमा नाच्नु पनि भएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङले महोत्सवले हिमाल, पहाड र तराइलाई जोडेको बताउँदै यस्ता अभियानले नेपालको अर्थतन्त्रलाई उकास्न मद्दत पुग्ने बताउनुभयो ।

टेवानका अध्यक्ष कमला गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी, कास्की शाखा अध्यक्ष विमला भण्डारी लगायतले बोल्नुभएको थियो ।
सांस्कृतिक महोत्सवमा प्रदेशका अधिकांश जिल्लाबाट सहभागिता रहेको टेवानले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्