तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नै मान्छेबाट नाजायज दबाब आयो : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरूलाई पन्छाउन क्रियाशील रहँदै आएकामा आफ्नै मान्छेहरूबाट आफूलाई नाजायज दबाब दिने र घेराबन्दीमा पार्ने काम भइआएको भन्दै त्यसप्रति दुःख व्यक्त गर्नुभएको छ ।

‘नेपालका बौद्ध तीर्थस्थलहरू’ शीर्षक पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले मुलुकलाई धोका दिने काम नगर्ने बरु राजीनामा गर्ने बताउनुभयो । “पटक पटकको घेराबन्दी तोड्नुभएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नेतृत्व विगतमा युद्ध लड्नका लागि मात्र हैन अहिले मुलुकका लागि समृद्धि हासिल गर्न पनि त्यतिकै आवश्यक छ,” उहाँले थप्नुभयो । 

पुस्तकका लेखक तथा सम्पादक गेशे थुब्तेन शेराब हुनुहन्छ । बुद्धसँग सम्बन्धित तीर्थस्थलहरू, बोधित्वसँग सम्बन्धित तीर्थस्थलहरू र बज्रयान सम्बन्धित तीर्थस्थलहरू गरी तीन खण्डमा विभाजित उक्त पुस्तक अनुसन्धान केन्द्र, लुम्बिनी बौद्ध विश्वविद्यालय, पर्सा र नेपाल बौद्ध महायान केन्द्र गुम्बा, कपनले प्रकाशन गरेको हो ।

नेपाली तथा तिब्बती भाषामा निकालिएका दुवै प्रति पुस्तकको थेरवाद, महायान र बज्रयानका धर्मगुरुहरूको उपस्थितिमा लोकार्पण गरिएको हो । गुरु लोसाङ नाम्ग्याल रिम्पोछेको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रो. सुमन्तराज न्यौपाने तथा इन्टरनेशनल बुद्धिष्ट एकेडेमीका खेन्पो डा. ङवाङ ज्योरदेनले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button