तपाईँ सुन्दै हुनुहुन्छः

मर्यादित महिनावारीबारे अन्तरक्रिया गरेर रेडियो नेपालमा तिज मनाइयो

काठमाडौँ । रेडियो नेपालमा कार्यरत कर्मचारी महिलाहरूको समूह दिदी बहिनी समूहले आज मर्यादित महिनावारी सम्बन्धि अन्तरक्रियाको आयोजना गरी तिज मनाएको छ ।

त्यस अवसरमा महिनावारीका सम्बन्धमा अनुसन्धान गर्नुभएका डाक्टर राधा पौडेलले महिनावारीलाई मर्यादित बनाउन पुरुष, घर परिवार र समाजको महत्वपूर्ण भूमिका हुने भएकाले महिनावारीका सम्बन्धमा खुलेर कुरा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले, महिनावारीलाई मर्यादित बनाउन सक्दा महिला हिंसाका घटना कम गर्न सकिने बताउनुभयो ।

डाक्टर पौडेलले रेडियो नेपालले मर्यादित महिनावारीबारे अन्तरक्रिया गरेर सामाजिक जागरण सिर्जना गरेको उल्लेख गर्नुभयो ।उहाँले महिनावारी हुँदा पूँजापाठ गर्न र मन्दिर दर्शन गर्न जान मिल्ने बताउनुभयाे ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले स्थापनाकालदेखि नै आफ्ना विविध कार्यक्रममार्फत सामाजिक जागरण र जनचेतना फैलाउँदै आएको र मर्यादित महिनावारी सम्बन्धी अन्तरक्रिया त्यसकै एउटा कडी भएको बताउनुभयो । उहाँले, महिनावारीलाई मर्यादित बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

दिदी बहिनी समूहका अध्यक्ष रमा पराजुलीको अध्यक्षतामा भएको अन्तरक्रियामा वरिष्ठ कार्यक्रम अधिकृत चन्दा विष्टले घर परिवारभित्रैबाट महिनावारीलाई मर्यादित बनाउन सके त्यसको सकारात्मक प्रभाव समाजमा पनि पर्ने बताउनुभयो ।

तस्बिर : मिलन ढुंगाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button