साझा लक्ष्य प्राप्तिका लागि समाजवादी मोर्चा गठन भएको हो : अध्यक्ष यादव

विराटनगर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले साझा लक्ष्य प्राप्तिका लागि समाजवादी मोर्चा गठन भएको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रलाई सुदृढ बनाउँदै आर्थिक विकास र मुलुकको समृद्धिका लागी मोर्चा गठन भएको प्रष्ट पार्नुभयो । उहाँले नेपाली कांग्रेसको सहकार्यमा मोर्चा गठन भएको बताउनुभयो ।
एक प्रश्नमा उहाँले कोशी प्रदेश सरकारको विषयमा दलहरू मिलेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । कुनै पनि दलको बहुमत नआउँदा कोशी प्रदेश सरकारले स्थायित्व दिन नसकेको उल्लेख गर्दै सरकार गठनका लागि प्रदेशमा आबद्ध सबै दल मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले अहिलेको संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण रहेकाले कोशी प्रदेशमा अहिलेको अवस्था सृजना भएको धारणा राख्नुभयो । उहाँले राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा नै सरकार बनाउने विषयले न्यायालयमा प्रवेश पाउने गरेको बताउनुभयो । संविधान संशोधन र निर्वाचन प्रणालीमा फेरबदलको आवश्यकता रहेको उहाँको भनाइ थियो ।








प्रतिक्रिया राख्नुहोस्