तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना हुनुभएको छ ।

उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी कक्षमा भर्ना हुनुभएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्व राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिनुभएको छ । उहाँले पूर्व राष्ट्रपतिसँगै अस्पतालमा उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई भेट्नुभयो । मन्त्री बस्नेतले उहाँहरूको स्वास्थ्य लाभको कामना गर्दै सरकारी अस्पतालप्रति सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तित्वको विश्वास बढेको बताउनुभयो ।

पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ । “उहाँको अवस्था स्थिर छ । चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरिरहेको छ, त्यसैले उहाँ थप केही दिन चिकित्सकको निगरानीमा बस्नुहुन्छ”, उपकुलपति प्रा डा बस्नेतले जानकारी दिनुभयो ।

खुकुरी प्रहार भएपछि चार दिनअघि अस्पताल भर्ना हुनुभएका नेपाली कांग्रेसका सहमहामन्त्री यादव र डेङ्गी तथा मुटुको समस्याले अस्पताल भर्ना हुनुभएका मन्त्री कार्कीको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button