प्रधानमन्त्रीद्वारा आसन्न चीन भ्रमणबारे पूर्व परराष्ट्र सचिव तथा राजदूतहरूसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व परराष्ट्र सचिव तथा पूर्व राजदूतहरूसँग आसन्न चीन भ्रमणबारे छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणलाई कसरी बढीभन्दा बढी सफल बनाउन सकिन्छ भन्नेबारे पूर्व परराष्ट्र सचिव तथा पूर्व राजदूतहरूसँग कुराकानी गर्नुभएको परराष्ट्रमन्त्री एन पी साउदले जानकारी दिनुभयो ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै परराष्ट्र मन्त्री साउदले छलफलमा सहभागी पूर्व परराष्ट्र सचिवहरू तथा पूर्व राजदूतहरूले चीनसँग नेपालको घनिष्ठ सम्बन्ध थप सुदृढ बनाउने गरी औचित्यपूर्ण र कार्यान्वयन हुन सक्ने कार्यक्रमहरूलाई मात्रै एजेन्डाका रुपमा राख्न सुझाव दिनुभएको बताउनुभयो ।

परराष्ट्रमन्त्री साउदले छलफलमा सहभागीहरूले भ्रमणका क्रममा नेपाल र चीनका साझा चिन्ता र चासोका विषयलाई प्रमुख प्राथमिकताका साथ उठाएर भ्रमणलाई सार्थक बनाउनुपर्ने सुझाव समेत दिनुभएको पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्