तपाईँ सुन्दै हुनुहुन्छः

मुसहर बस्तीमा क्षयरोगको प्रकोप : दुई जनाको मृत्यु

महोत्तरी । महोत्तरीको बर्दिबास–१४ स्थित नमुना मुसहर बस्ती केही समययता क्षयरोगले आक्रान्त बनेको छ ।

बस्तीमा मुसहर समुदायका ५२ परिवारको बसोबास छ । तीमध्ये अधिकांशमा क्षयरोगको सङ्क्रमण देखिएको छ । क्षयरोगबाट ५२ वर्षीय फूलकुमारी सदा र ४२ वर्षीय वासुदेव सदाको मृत्यु भइसकेको बर्दिबास नगरपालिकाका, नगर स्वास्थ्य शाखाले जनाएको छ ।

वडा नं. १४ की सामुदायिक नर्स प्रजिता कडारीका अनुसार टिबी (क्षयरोग) बाट नमुना मुसहर बस्तीका बालबालिका समेत सङ्क्रमित छन् । लक्षणका आधारमा मुसहर बस्तीका २० जना बालबालिकाको खकार सङ्कलन गरि शनिबार प्रादेशिक अस्पताल जनकपुरमा परीक्षण गराइएको थियो ।

परीक्षणको रिपोर्ट अनुसार १० महिनादेखि दुई वर्ष उमेर समूहका चार जना बालबालिकामा छातीको टिबी पुष्टि भएकाले मुसहर बस्तीको स्वास्थ्य अवस्था गम्भीर देखिएको नगर स्वास्थ्य प्रमुख सुरेश पासवानले बताउनुभयो ।

बस्तीका मुखिया बिल्टु सदाका अनुसार औषधी नखाइदिने प्रवृत्तिले सबै उमेर समूहमा टिबी फैलिएको हो । “औषधी खाँदा कमजोरी हुने, बेहोस हुने भ्रम रहेकाले रोग पालेर बस्छन्” उहाँले समस्या बताउनुभयो ।

अधिकांशमा टिबीका लक्षण देखिएपछि बर्दिबास नगरपालिकाले मुसहर बस्तीमा शनिबार खकार सङ्कलन शिविर आयोजना गर्नुका साथै सचेतीकरण अभियान सुरु गर्ने भएको छ ।

मुसहर बस्ती पुग्नुभएका नगर प्रमुख प्रह्लाद क्षेत्रीले कुलत त्याग्न र स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button