बाइस वर्षदेखि मिसन अस्पताल बन्द

पर्वत I करिब दुई दशकअघि देखि पर्वतको मिसन अस्पताल बन्द छ ।
विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैंयु गाउँपालिका–४ हुवासमा स्थापना गरिएको अस्पताल सम्बन्धित निकायको बेवास्ताका कारण अझै बन्द छ ।
सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको अस्पताल सञ्चालनमा नआउंँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । विसं २०५० मा स्थापना गरिएको सो अस्पताल सञ्चालनको आठ वर्षमै बन्द भएपछि गाउँलेले उपचारमा सास्ती व्यहोर्नुपरेको हो । उनीहरूले पटक–पटक अस्पताल सञ्चालन गर्नका लागि आग्रह गर्दै आएका छन् ।
पन्ध्र शय्याको उक्त अस्पताल बन्द भएको दुई दशक बित्दा पनि सञ्चालनमा कसैले चासो दिएका छैनन् । त्यति बेला अस्पतालमा दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत थिए । विशेषज्ञ सुविधासहित सबै खालका शल्यक्रियासमेत हुने अस्पतालबाट तत्कालीन अवस्थामा पर्वत, स्याङ्जा र गुल्मीका सर्वसाधारण लाभान्वित थिए । व्यक्तिको १५ रोपनी जग्गामा ‘एडभान्टिस्ट फन्ट मिसन’ नामक अमेरिकी संस्थाले रु एक करोड लगानीमा निर्माण गरेको उक्त अस्पतालका चार भवन र फर्निचर अहिले जीर्ण बनेका छन् ।
अस्पताल भवन र आवासगृहमा लगाइएको टायल फुटेपछि चुहिन थालेको छ । समयमै मर्मत नगरे भवन भत्कने उक्त अस्पतालका पूर्वरजिष्ट्रार गङ्गा न्यौपानेले बताउनुभयो । “द्वन्द्वकालमा अमेरिकी सरकारले आफ्ना सबै चिकित्सक फिर्ता बोलायो”, उहाँले भन्नुभयो, “उनीहरू गएपछि अस्पताल नै बन्द भयो ।”
अस्पताल बन्द भएपछि सरकारले सञ्चालनमा चासो नदिँदा आफूहरू समस्यामा परेको स्थानीय समाजसेवी लालबहादुर प्रधानले बताउनुभयो । “पाल्पाको मिसन अस्पतालको अवधारणाअनुसार निर्माण भएको यो अस्पताल बन्द भएपछि बिरामी उपचारका लागि पोखरा, स्याङ्जा, बुटवल, पाल्पा, भैरहवालगायत ठाउँ जान बाध्य छन्”, प्रधानले भन्नुभयो । सबै किसिमका बिरामीको जाँच गर्ने गरिएकाले अस्पतालमा दैनिक ५० देखि एक सय जनासम्म बिरामी उपचारका लागि आउने गर्थे ।
पैंयु गाउँपालिकाको केन्द्र रहेको हुवास बजार जिल्लाको प्रमुख व्यापारिक नाकामध्येको एक भए पनि उक्त स्थानमा सुविधा सम्पन्न स्वाथ्यचौकी स्थापना नहुँदा स्थानीय सास्ती भोग्न बाध्य भएका बेला गत वर्षदेखि पालिकाले आधारभूत अस्पताल सञ्चालनमा ल्याएपछि भने केही राहत महसुस गरेका छन् । अस्पताल सञ्चालन भए पनि पर्याप्त चिकित्सक र उपकरण नहुँदा सामान्य रोगबाहेकका बिरामी पोखरा, पाल्पा, काठमाडौँ नै धाउनुपर्ने अवस्था छ । स्थानीय तहले समेत अलपत्र अस्पताल र त्यहाँ रहेका सामानको व्यवस्थापनमा चासो नदिएको स्थानीय अनिता शर्माले बताउनुभयो ।
“अस्पताल सञ्चालन गर्न सबैसँग आग्रह गर्यौँ”, प्रदेशसभा सदस्य मित्रलाल बस्यालले भन्नुभयो, “सञ्चालनमा कसैले चासो दिएनन् ।” अस्पताललाई सरकारले सञ्चालनमा ल्याउन सके आफूहरूले महँगो रकम तिरेर उपचार गर्न अन्यत्र जानुपर्ने समस्या हटने उहाँको भनाइ छ । गाउँलेले स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधिसँग अस्पताल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरे पनि कसैले चासो नदिएको बताएका छन् । रासस







प्रतिक्रिया राख्नुहोस्