हरायो कपास खेती, हरायो परम्परागत पहिरन

मुगु । कुनै बेला कपास खेतीको उर्वर भूमि मानिने सोरु गाउँपालिकामा कृषकहरूले कपास खेती गर्न छाडेपछि परम्परागत पहिरन आँगो, घाग्रो, पच्छौरा, पाउरो, झम्फर लोप हुँदै जान थालेका छन् ।
पछिल्लो समय मुगु जिल्लामा आयातित लत्ता कपडा भित्रिन थालेपछि परम्परागत पहिरन लोप हुँदै जान थालेका हुन् ।
स्थानीय उत्पादन कपासले राम्रो मूल्य नपाए पछि र उत्पादनमा लाग्ने मूल्य भन्दा बाहिरी आयातित कपडाको मूल्य कम परेपछि कपास खेती गर्ने किसानहरू कपास खेती प्रति निरुत्साहित भएसँगै यहाँ उत्पादित हुने पोशाक अहिले खासै पाइँदैन ।
विशेष गरी उमेर ढल्केका महिलाहरूले ठेटुवाको कपडामा तोरा खैरो रङ्ग दिने मजिठो भन्ने जडीबुटी र सिममा पाईने माटाको तोरोसँगै मिसाई काठको सानो बुट्टा दिने छिपोको माध्यमबाट छाप लगाएर धोती र मुजा पारेको घाग्रो बनाउने र त्यसैलाई लगाउने यहाँको चलन थियो । केटा केटीहरू पनि ठेटुवाको दौरा सुरुवाल र केटीहरूले ठेटुवाको सेतो आँगो लगाउने चलन यहाँ थियो । करान बाहेक खतेड,गम र सोरु भेगका उमेरले पाका महिलाहरू पनि प्राय जसो ठेटुवाकै पहिरन लगाउने गर्दथे ।

सस्तोमा आयातित कपडा पाउन थालेपछि सोरुमा पाईने (घरबुना) ठेटुवा अहिले खासै प्रयोग हुँदैन ।
उत्पादनका हिसाबले ठेटुवाले मूल्य नपाए पछि स्थानीय कृषकहरूले कपास खेती गर्न छाडेका छन् भने पहिरन बुन्नेहरूले पनि पेशा बदलेका छन् ।
‘दुःख गरेर आफ्नै साना तीना घरेलु उद्योगबाट उत्पादन गरेको ठेटुवाको कपडा त्यतिखेर २ दिनको बाटोमा पैदल हिँडेर गमगढी आई बेच्ने गरेका थियौँ । पहिले पहिले राम्रै मूल्य पाईने गरेको भएपनि बिस्तारै बजारमा ठेटुवाको माग घट्न थालेपछि कपास खेती गर्न छाड्यौ ।,’ सोरु गाउँपालिका २ नचारा गाउँका कृषक जग्गा बहादुर शाहीले बताउनु भयो ।
पछिल्लो समयमा कपास खेती भन्दा मास, आलु सिमी र मकै खेतीबाट राम्रो आम्दानी राम्रो भएकाले आफूहरूलाई कपास खेती गर्न मनै नलाग्ने गरेको शाहीको भनाई थियो ।
सोरु गाउँपालिका जडेपानीका अर्का कृषक चन्द्रबहादुर शाहीले पनि कपास खेती छोडेको धेरै समय भयो । पहिला पहिला आफु लगायत धरै जनाले कपास खेती गरेपनि खासै फाइदा नभएपछि मास र सिमी खेतीतिर लागेको उहाँले सुनाउनु भयो ।
कपास खेती गरी धागो बनाउने र चान पुरेर कपडा तयार गर्दासम्म समय धेरै लाग्ने र बाहिर आयातित कपडासँग प्रतिस्पर्धा समेत गर्न नसकिने भएकाले आफूले पनि कपास खेती गर्न छाडेको शाहीले बताउनु भयो ।
केही बर्ष अघि उत्पादनको अर्को विकल्प नहुँदा कपास लगायत परम्परागत खेती गर्न बाध्य यहाँका किसान अहिले अन्य खेतीतर्फ लाग्दा कपास, चिनो काउनी मार्से जस्ता बालीहरूको अस्थित्व सङ्कटमा पर्दै गएको सोरु गाउँपालिकाका फोतुका स्थानीय राजबहादुर .शाहीले बताउनुभयो ।
पछिल्लो समय विभिन्न संघ संंस्थाहरुको पहलमा सोरुमा मार्से, कपास लगायतका बालिहरुको अस्थित्व जोगाउनको लागि लगानी भएपनि त्यो कार्यक्रम कार्यक्रममा नै सीमित रहेको शाहीको भनाई छ । बहुउपयोगी कपासबाट धागोको अलवा तेल,भुवा, र पिना औषधिको रुपमा प्रयोग गर्ने गरिँदै आइएको थियो ।







प्रतिक्रिया राख्नुहोस्