तपाईँ सुन्दै हुनुहुन्छः

बालिका बलात्कार पछि भ्रूण हत्या प्रकरण : पूर्ववडा अध्यक्ष पक्राउ 

नवलपरासी  । भ्रूण हत्याको आरोपमा पश्चिम् नवलपरासीमा एक पूर्ववडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का पूर्व वडाअध्यक्ष त्रिभुवन सिंहलाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो ।

वडाअध्यक्ष सिंहको घरमा कामदारको रुपमा रहेका जयकिसुन सिंहले १३ बर्षीय बालिकालाई जबर्जस्तीकरणी गरी  गर्भवती बनाएको र पूर्व वडाअध्यक्ष सिंहले भारतमा लगेर गर्भपतन गराई घटना सामसुम पार्ने खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । जय किसनलाई प्रहरीले एक हप्ता अघि नै पक्राउ गरिसकेको थियो ।

घटनाको अनुसन्धानका लागि स्थानीय राम किसन कुर्मीलाई नियन्त्रणमा लिएपछि वडा अध्यक्ष सिंह संलग्न रहेको खुल्न आएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

घटनालाई लुकाउन भ्रूणलाई  उँखुवारीमा फालिए पनि प्रहरीले भ्रूण फेला पारेको थियो । प्रहरीका अनुसार भ्रूण फेला पारे लगत्तै ईलाका प्रहरी कार्यालय बेलाटारीले भ्रूण हत्यामा संलग्नहरूको खोजी कार्य सँगै अनुसन्धान अगाडि बढाएको थियो । घटनामा पूर्व वडा अध्यक्षका छोरा समेत संलग्न रहेको देखिएकाले उनको समेत खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।यस विषयमा थप अनुसन्धान अघि बढिरहेको डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button