तपाईँ सुन्दै हुनुहुन्छः

एसियाडमा आर्चरीका ४ जना खेलाडी सहभागी हुँदै 

पोखरा । इन्डोनेसियामा भएको १८ औँ एसियाली खेलकुदमा सहभागी हुनु भएका तिलक पुन मगर दोस्रो पटक सहभागी हुने १९ औँ एसियाली खेलकुदमा भने सके पदक अन्यथा राष्ट्रिय रेकर्ड तोड्ने रणनीतिमा हुनुहुन्छ । विना अनुभव पहिलो पटक सहभागी हुँदा एसियाली खेलकुदमा र्याङकीङमा पर्न नसक्नु भएका पुनः यसपाली नियमित जसो अभ्यासले गर्दा फर्म हुनुहुन्छ ।

नेपाल पुलिस क्लबमा आबद्ध हुनु भएका पुनः आफ्नो अनुभवले र यस वर्ष अघिल्लो वर्षको तुलनामा केही बढी समय बन्द प्रशिक्षण गर्ने अवसर प्राप्त भएकोले यस बर्ष उत्कृष्ट प्रदर्शन गरी प्रेम बहादुर पुनले कायम गरेको रिकर्भ तर्फको ६५५ अङ्कको रेकर्ड तोड्ने रणनीतिमा भएको बताउनु हुन्छ । 

खेलका क्रममा आफूलाई खासै कुनै कुराको अभाव नभएको बताउँदै पुनले खेलमा कहिले काँही राम्रो गर्न खोज्दा खोज्दै खेलको सन्तुलन गुम्न सक्ने बताउनु भयो । आफ्नो लागि विभिन्न दाताबाट खेल सामाग्री प्राप्त भएकोले समस्या नभएको पुनले बताउनु भयो । मानिसलाई जति भए पनि नपुग्ने बताउँदै उहाँले विदेशी प्रशिक्षक तथा विदेशी खेलाडीहरूसँग मैत्रीपूर्ण खेल्न पाएको अवस्था भएको भए थप राम्रो हुने जनाउनु भयो । 

असारमा केही समय काठमाडौँमा प्रशिक्षणमा रहनु भएका पुन सहितका ४ जना खेलाडीहरूलाई आर्चरी ट्रेनिङ सेन्टर उपयुक्त नभएका कारण साउन एक गते देखि हाल पोखरामा बन्द प्रशिक्षणमा रहनु भएको छ । चीनको होङझावमा हुने १९ औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले आर्चरी खेलमा पुनः सहित मन्जु बजगाई रिकर्भ विधामा प्रतिस्पर्धा गर्दै हुनु हुन्छ भने आर्चरीको कम्पाउण्ड विधामा योगेन्द्र शेरचन र इमायुङ राई प्रतिस्पर्धा गर्ने भएका हुन् । आगामी असोज ६ देखि २३ गतेसम्म चीनमा हुने आर्चरी खेलमा नेपालको तर्फबाट चौथौँ पटक सहभागी हुने भएको हो । 

यस अघिका प्रतियोगितामा नेपालको सहभागितामा मात्र सीमित भएको थियो । राई र मन्जु नेपाल आर्मीमा आबद्ध खेलाडी हुनुहुन्छ भने शेरचन पोखराका खेलाडी हुनुहुन्छ । पोखराको राष्ट्रिय आर्चरी खेलमैदानमा हाल प्रशिक्षणमा रहनु भएका शेरचनले आर्चरी प्राविधिक खेल भएकोले गर्दा खेल सामाग्रीको भने अभाव भएको बताउनु भयो । खेल सामाग्री समयमै माग गर्दा प्राप्त गर्न नसकेको उहाँले गुनासो गर्नु भयो । प्रशिक्षणको क्रममा उहाँको बोगो (धनुस) भाँचिएको ले आफ्नो व्यक्तिगत खर्चमा २ लाख ५० हजार खर्चिएर भारतबाट धनुस खरिद गरेको बताउनु भयो । ३ महिना अघि नै एरो सहितको खेल सामाग्री उपलब्ध भएको भए आफूहरूको प्रशिक्षण उत्कृष्ट हुने उहाँको दाबी छ । एसियाली खेलकुदको सेमिफाइनलमा पुग्ने देश नै ओलम्पिकमा सहभागी हुने हुँदा आफूहरूले सेमिफाइनलको यात्रासम्म पुग्ने लक्ष्य राखेको बताउनु भयो । 

प्रशिक्षक वसन्त थकालीले पोखरामा बढी पानी पर्ने भएकोले प्रशिक्षणको समय तालिकामा असर पारे पनि प्रशिक्षणमा आफूहरूले कुनै कमी नगरेको दाबी गर्नु भयो । यसपाली उत्कृष्ट खेल प्रदर्शन गर्ने गरी पोखरामै करिब डेढ महिना जसो प्रशिक्षण गरिएको उहाँले बताउनु भयो । २० जना खेलाडीहरूबाट १६ जना हुँदै ४ चरणबाट ४ जना मात्र खेलाडीहरू छनौट भएको प्रशिक्षक थकालीले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button