भेरी बबई डाइभर्सनको काम दुई वर्षभित्र सम्पन्न गर्न मन्त्री बस्नेतको निर्देशन

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको काम आगामी दुई वर्षभित्र पुरा गर्ने गरी कार्य योजना बनाउन निर्देशन दिनुभएको छ।
स्थलगत अनुगमन पश्चात् आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका कर्मचारीहरूसँगको छलफलका क्रममा मन्त्री बस्नेतले आगामी दुई वर्षमा काम सम्पन्न गर्नका लागि ठोस कार्य योजना बनाउन निर्देशन दिनुभएको हो ।
तोकिएको अवधिमा काम सम्पन्न गर्ने अवस्था नभए निर्माण अवधिको म्याद मात्र थपेर नहुने उहाँको भनाइ छ । उहाँले आगामी दिनमा म्याद मात्र थमौती गर्ने काम सरकारले नगर्ने बताउनु भयो।
साथै मन्त्री बस्नेतले भेरी बबईको काम अपेक्षा गरे अनुसार अगाडी बढ्न नसकेको बताउँदै उहाँले दुई वर्षे कार्य योजना बनाई त्यो अनुसार काम भए नभएको रिपोट अनुसार मात्र म्याद थपिने बताउनु भयो ।
आयोजना प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा दिने काम पनि तत्काल अघि बढाउन उहाँले निर्देशन दिनु भयो । उहाँले प्रक्रिया पुगेका नागरिकलाई आयोजनाले वा सरकारले अन्याय गर्ने काम मान्य नहुने बताउनुभयो । प्रक्रिया पुगेका नागरिकका फाइल अघि बढाई मुआब्जा लिन वञ्चित जनतालाई प्रक्रियामा लैजान उहाँले निर्देशन दिनुभयो।
भेरी बबईको काम अहिलेसम्म ६० प्रतिशत भन्दा केही बढी भएको आयोजनाले जनाएको छ।
अनुगमन कार्यक्रममा कर्णाली प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री मंगल शाही, सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी, प्रदेश सभा सदस्य विन्दमान विष्ट लगायतको सहभागी रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्