तपाईँ सुन्दै हुनुहुन्छः

धान मर्न थालेपछि झापाको अर्जुनधाराका किसान चिन्तित

भद्रपुर, झापा।धानको बोट नै मर्न थालेपछि झापाका किसान चिन्तित भएको छन् ।

झापाको अर्जुनधारा वडा नम्बर ३ का किसानहरूले लगाएको धानबारीमा गारो रोग फैलिएपछि धानका बोट मर्न थालेका छन् । सो वडामा १० जना किसानले लगाएको २० बिगाहा धानखेतीमा गारो रोग देखिएको हो ।

रोगले धान पहेँलो भएर मर्न थालेपछि चिन्ता छाएको पीडित किसान दलमान कामीले दुखेसो पोख्नुभयो । उहाँले लगाएको धान पूरै पहेँलो भएको वडासचिव खगेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

आफ्नो वडामा किसान पीडित भएको खबर आएपछि कृषि शाखाबाट गारो मार्ने कीटनाशक औषधि वितरण गरिएको वडा सदस्य नारायण पराजुलीले बताउनुभयो ।

कृषि शाखा प्रमुख एन्जिला विडारीले अर्जुनधाराका सबै वडामा फौजी किरा र गारो रोगको प्रकोप देखिएको बताउनु भयो । उहाँले रोग नियन्त्रणका लागि कीटनाशक झोल औषधि वितरण गरिँदै आएको जानकारी दिनुभयो ।

अत्यधिक पानी परेर घाम लागेपछि जमेको पानी तातिएर धानका बोटमा फौजी किरा र गारो जस्तो रोग लागेको विडारीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button