‘अनुसन्धानात्मक, जनमुखी र सर्वसुलभ शिक्षा–आजको आवश्यकता’
काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकोले शिक्षाको उद्देश्य केवल बेरोजगारी समस्या समाधान गर्ने मात्रै नभएको बताउनुभएको छ।

आइतबार सम्पन्न विश्वविद्यालय समन्वय समितिको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले अनुसन्धानात्मक, जनमुखी र सर्वसुलभ शिक्षाबाट मात्रै मानिसले जीवनको उद्देश्य बुझ्ने बताउनुभयो। त्यसका लागि शिक्षामा राज्यले लगानी बढाउनैपर्ने र शैक्षिक नेतृत्वमा राजनीतिक भागबन्डाको अन्त्य गर्नैपर्ने उहाँले बताउनुभयो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले मन्त्रालय, शैक्षिक निकाय र सरोकारवाला सबैको छलफल, मन्थन एवम् सहकार्यबाट उचित मार्ग तयार गरिने बताउनुभयो।

बैठकमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारी र अन्य विश्वविद्यालयका प्रमुखहरूले विद्यार्थी कम भएका कलेजहरू मर्जरको दिशामा जानुपर्ने, एकेडेमीक क्यालेन्डर बनाउनुपर्ने, अराजक गतिविधि नियन्त्रण हुनुपर्ने, भातृ सङ्गठनका बन्द हड्ताल अन्त्य हुनुपर्ने लगायतका धारणा राख्नुभएको थियो।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र सदस्यहरू सहितको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राई र सरोकारवाला मन्त्रालय तथा निकायका उच्च अधिकारीहरू सहभागी हुनुहुन्थ्यो।







प्रतिक्रिया राख्नुहोस्