ताराखोलामा युवायुवतीबीच सिस्नु खोसाखोस
बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा मगर समुदायले मनाउने सिस्नो खोसा खोस गर्ने भदौरे पर्व धुमधामका साथ मनाइएको छ ।
आफ्ना दिवङ्गत पितृहरू तथा प्रकृतिको सम्मानार्थ प्रत्येक दुई वर्षमा मनाइने यो पर्वमा अविवाहित युवा युवतीले घण्टौँसम्म सिस्नु खोसा खोस गर्ने गर्दछन् । भदौ महिनाको द्वितिया पक्षमा ओम्टोमा गुरुमासहित बुढापाकाहरूले ढ्याङ्रो झ्यालीसहित सुचारु गरि सुरु हुने यो पर्वमा तृतीया तिथिमा भालेको ढाकसँगै जिउँदो राँगोलाई पल्टाएर मुटु चल्दाचल्दै कुटुरुमे घरमा लगेर बली चढाउने गरिन्छ ।

तृतीयकै दिन मध्यान्न तिर जिउँदो सुँगुरलाई झुन्डाएर मुटु चल्दै गरेको अवस्थामा बली चढाउनु पर्ने स्थानीय राम बहादुर घर्ती मगरले बताउनुभयो ।
यो पर्वमा गाउँका सबैको सु स्वास्थ्य ,दीर्घायुको कामना गर्दै सामूहिक रुपमा मन्त्र जप्दै, रातभर पूजा अर्चना गरिनुका साथै ढ्याङराहरु र झ्याली बजाएर रमाइलोसमेत गर्ने गरिन्छ ।
यो पर्व तारगाउँका तीन ठाउँमा मनाइने गरिन्छ । जस अनुसार संस्कारको जेठो अर्गल माइलो हिल र कान्छो तारागाउँमा यो संस्कार मनाइने घर्तीको भनाई छ । मुल घर नजिक रहेको पाटामा विधिवत् पूजा गर्ने, सुँगुरको बलि दिनेसँगै सामूहिक रुपमा मन्त्र जप्दै ढ्याङराहरु र झ्याली बजाइने र त्यसपश्चात् सुँगुरको सपेटो निकालेर सिस्नोमा बाँध्ने गरिन्छ । अन्तिममा बुढापाकाहरू विवाहित युवाहरूले ढ्याङ्ग्रा र झ्याली बजाउँदै अविवाहित पुरुषहरूले सपेटोसहितको सिस्नोसँगै परिक्रमा गर्ने प्रचलन रहेको छ ।
युवाहरूले बोकेको उक्त सिस्नो युवाहरू र युवतीहरू बीच ७ पटकसम्म एक आपसमा सामूहिक रुपमा घण्टौँ समयसम्म खोस्ने गरिन्छ । सपेटो सहितको सिस्नोलाई युवाहरूले जोगाउने र युवतीले खोस्ने गर्दछन् । जितिसकेपछि यिनै युवा युवतीहरू मिलेर सामूहिक रुपमा त्यसलाई खाने गर्दछन् । तर युवतीहरूले जितेमा दण्ड तिर्नुपर्ने चलन रहेको छ । सिस्नो खोस्ने कार्यक्रममा अविवाहित युवा युवतीहरू मात्र सहभागी हुन पाउने स्थानीय बल बहादुर पुनको भनाई छ । पर्वमा रमाइलो हेर्न मगर समुदाय सँगै अन्य समुदायको पनि उल्लेख्य उपस्थिति हुने गरेको छ । सिस्नो खोस्ने भदौरे संस्कार संस्कृति भने पर्व दुई वर्षको अन्तरालमा मनाइने गरिन्छ ।
बागंलुङमो हिलमा सकिए लगतै तारा गाउँमा ३ दिनसम्म मनाउने यो पर्व अन्तिममा ताराखोला गाउँपालिका–२ मा अवस्थित अर्गलमा मनाउने गरिन्छ ।







प्रतिक्रिया राख्नुहोस्