‘सामाजिक रूपान्तरणमा रङ्गमञ्चको मुख्य भूमिका छ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले हामीले हेरेका र देखेका सामाजिक रूपान्तरणदेखि राजनीतिक क्रान्तिसम्म रङ्गमञ्चको मुख्य भूमिका रहिआएको बताउनुभएको छ ।

नाट्यकर्मी महासङ्घ नेपालको दोस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा उहाँले समाजको यथार्थलाई कथाका माध्यमबाट दिशानिर्देश गर्न सक्ने बलियो आधारका रुपमा रङ्गमञ्च रहेको धारणा राख्नुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हर्तम्छालीले संविधान र कानुनको मर्म र भावना अनुरुप सबै जातजाति एवं समुदायलाई सामाजिक रुपान्तरणका लागि सन्देश दिने ढङ्गबाट रङ्गमञ्चले सन्देश प्रवाह गर्न सक्नुपर्ने विचार प्रकट गर्नुभयो ।
नाट्यकर्मी महासङ्घ नेपालका पूर्व अध्यक्ष एवं वरिष्ठ नाट्यकर्मी विजय विस्फोटले सडक र पूर्वाधार विकासले मात्र देशले समृद्धि प्राप्त गर्न कठिन हुने भएकाले बलियो नीति तथा विधि बनाएर कला र संस्कृतिको संरक्षण एवं विकासलाई सँगसँगै लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
महासङ्घका संस्थापक बैकुण्ठ भण्डारीले रङ्गकर्मीको पेसागत सुरक्षाका लागि मुख्य उद्देश्य बनाएर महासङ्घ स्थापना गर्न परेको घटना सुनाउनुभयो ।
चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले रङ्गमञ्च मात्र नभई सिनेमा क्षेत्र समेत राजनीतिक भागबन्डामा परेकाले यस क्षेत्रको ओज र गरिमा धुमिल हुन पुगेको विचार प्रकट गर्नुभयो ।
सिल्क रोड इन्टर नेशनल लिग अफ थिएटरका संस्थापक सदस्य दीपक सरकारले देशको पहिचानका रुपमा रहेका कला, संस्कृति, पहिचानसँग जोडिएका विषयवस्तुलाई रङ्गमञ्चका माध्यमद्वारा जीवन्त राख्ने कार्यलाई समाजका सबै क्षेत्रबाट सहयोग पुर्याउन जरुरी रहेको धारणा राख्नुभयो ।
मुलुकमा लोकतन्त्र र मानव अधिकारका लागि अग्रमोर्चामा रहेर काम गर्ने कलाकारको संस्थाका रुपमा विस २०६५ मा स्थापना भएको हो । कार्यक्रममा रङ्गमञ्च एवं संस्था स्थापनाका लागि विशिष्ट योगदान पुर्याउने भण्डारी र विस्फोटलाई सम्मान प्रदान गरियो ।








प्रतिक्रिया राख्नुहोस्