तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि एमालेको लुम्बिनी अधिवेशन, अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरू बुटवल आउँदै

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजदेखि बुटवलमा सुरु हुँदैछ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको उद्घाटनको तयारी पूरा भएको एमालेले जनाएको छ । पार्टीले तय गरेको तालिकाअनुसार सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले सबैभन्दा पहिले अधिवेशन गर्दैछ ।

प्रथम अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ः३० बजे गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्यमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहने सो पार्टीले जनाएको छ ।

अधिवेशन पूर्व बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहाबाट जुलुस तथा झाँकीसहित सम्मेलन स्थलमा प्रवेश गर्ने कार्यक्रम बनाइएको छ ।सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसङ्गठनहरूबाट छानिएका १००४ प्रतिनिधिहरू अधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरू अधिकांश शुक्रबार नै बुटवलमा आइसकेका छन् ।

अधिवेशनमा रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४ प्रतिनिधि छानिएका छन् भने कम रुकुमपूर्वकबाट १२ छानिएका छन् । यसैगरी कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसङ्गठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएको एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो ।

अधिवेशनले २०५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनबाट नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्य हरि रिजाल र अहिलेका सचिव लक्ष्मण आचार्यले तयारी गरेका छन् । तर नेतृत्व सकेसम्म सर्वसम्मतिबाटै चयन हुने एमाले नेताहरूले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button