तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा रोपाइँ जात्रा सम्पन्न (फोटोफिचर)

धनकुटा । गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँ जात्रा शुक्रबार धनकुटामा मनाइएको छ ।

धनकुटाको टुँडिखेलबाट सुरु भएको रोपाइँ जात्रा बजार परिक्रमा गरी बसर्पाकमा पुगेर समापन भएको थियो । टुँडिखेलबाट सुरु भएको जात्रा तल्लो कोप्चे, माथिल्लो कोप्चे, भीमनारायण चोक, भीमसेन थान, परिचय मोड, चुवाको बोट हुँदै बसपार्कमा पुगेर समापन भएको हो ।

असार र साउन रोपाइँ गरेर अब त बाँचियो भनी मनोरञ्जनका लागि कृत्रिम रोपाइँ मनाउने चलन रहेको नेवा दे दबु धनकुटा नगर अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो । नेवारी समाजको कला संस्कृति जगेर्ना गर्नका लागि पनि यस्ता खाले कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ ।

त्यस अवसरमा हातमा बीउ लिएका रोपार र कोदाली बोकेर लाठे रोपाइँ जात्रामा निस्केका थिए । नौमती बाजासहित झाँकी प्रस्तुत गरिएको थियो ।

जात्रा कहिलेदेखि मनाउने थालियो भन्ने यकिन नभए पनि रोपाई जात्राको प्रसङ्ग स्थानीय नेवार जातिको खेती कर्म र पौराणिक कालको देव–दैत्यबिचको द्वन्द्वसँग जोडिएको बताइन्छ । खासगरी महादेव र देवासुरबिच महासङ्ग्राम भएको र अन्त्यमा देवासुरले भाद्र कृष्ण द्वितीयका दिन घुँडा टेकेकाले सोही दिनलाई आधार मानी जात्रा मनाउन सुरु गरिएको भन्ने मान्यता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button