तपाईँ सुन्दै हुनुहुन्छः

दक्ष अग्नि नियन्त्रक उत्पादन गर्दै नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्ज । दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न नेपालगन्ज उपमहानगरपालिकाले तालिम दिन थालेको छ । घना बस्तीमा आगलागीको जोखिम र क्षति न्यूनीकरण गर्ने उद्देश्यले दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न तालिम दिन थालिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको वारुण यन्त्र शाखा, नगर प्रहरी, नेपाल प्रहरी र समुदायमा अग्नि नियन्त्रणको काम गर्दै आएकाहरूको दक्षता र कार्यकौशल बढाउन आजदेखि चार दिने तालिम सुरु भएको छ । २४ जना सहभागी तालिममा आगलागीमा कसरी उद्धार गर्ने, दमकल कसरी परिचालन गर्ने, आगलागीस्थलमा पानी कसरी पुर्‍याउने, धुवाँमा जाँदा के गर्ने, घाइतेलाई अस्पतालसम्म कसरी पुर्‍याउने, खतराजन्य पदार्थको आगलागीमा कस्तो सजगता अपनाउने लगायतका विषयमा प्रयोगात्मक अभ्याससहित प्रशिक्षण दिइने प्रमुख प्रशिक्षक किशोरकुमार भट्टराईले बताउनुभयो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले अग्नि नियन्त्रण तथा उद्धार तालिम उपयोगी हुने विश्वास ब्यक्त गर्दै चासोपूर्वक सिक्न आग्रह गर्नुभयो । राईले नेपालगन्जमा घना बस्तीका कारण आगलागी चुनौतीका रुपमा रहेको बताउनुभयो । सिकेका कुराहरू व्यवहारमा उतार्न सक्नुपर्नेमा उहाँको जोड छ । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले तालिमबाट प्राप्त हुने सीपले आगलागी नियन्त्रणमामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका विपद तथा वातावरण समिति संयोजक समिरप्रताप सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश श्रीवास्तव, आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायत उपस्थित हुनुहुन्थ्यो । तालिमको उद्देश्यमाथि विपद तथा वातावरण शाखा प्रमुख प्रकाश डिसीले प्रकाश पार्नुभएको थियो  ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सँगको सहकार्यमा तालिम आयोजना गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button