अबको युग विद्युतीय पुस्तकालयको युग

काठमाडौं । पहिले पहिले पुस्ता–पुस्ताबीच ज्ञान हस्तान्तरण गर्ने मौखिक प्रचलन थियो । लेख्य सामाग्रीहरू उपलब्ध हुन थालेपछि विश्वमा पुस्तकालयको अवधारण आएको हो भने नेपालमा पनि २ सय वर्षभन्दा बढी लामो पुस्तकालय इतिहास छ । मानिसहरूलाई अनौपचारिक तथा औपचारिक शिक्षामा सहयोग गर्दै व्यक्तिलाई सफल, सक्षम र प्रतिस्पर्धी बनाउन पुस्तकालयका शैक्षिक सामग्री महत्वपूर्ण मानिन्छन् ।
व्यवस्थित पुस्तकालयको स्थापनाले बौद्धिक विकासमा मात्रै नभई मुलकको विकास र समृद्धिमा पनि सहयोग पुर्याउँछ हाल नेपालमा शैक्षिक पुस्तकालय, राष्ट्रिय पुस्तकालय र विशेष पुस्तकालयका साथै ९ सय २८ सार्वजनिक पुस्तकालय छन् जहाँ गएर आफूले पढ्न चाहेको विषय पाठकले खोजेर पढ्न सक्छन् भने कतिपय ठाउँमा विद्युतीय पुस्तकालयको पनि विकास भएको पाइन्छ , दैनिक एकसयजना भन्दा बढी पाठक गएर अध्ययन गर्ने नेपाल राष्ट्रिय पुस्तकालय भूकम्पपछि व्यवस्थित हुन सकेको छैन । योसँगै केशर पुस्तकालय, डिल्लीरमण रेग्मी राष्ट्रिय पुस्तकालयलाई सरकारले विद्युतीय लाइवेरीका रुपमा विकास गर्न काम अघि बढाएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवं पुस्तकालय समन्वय तथा अभिलेख शाखाका प्रमुख यादवचन्द्र निरौला अबको पुस्तकालय मिश्रित हुनुपर्ने बताउनुहुन्छ । बदलिएको परिवेशमा विद्युतीय पुस्तकालयको अवधारण र विकास हुन थालेको भए पनि प्रत्येक मानिसको हात हातमै रहेको प्रविधियुक्त डिभाइसमा पुस्तक पढ्न चाहनेलाई कसरी यसको उपयोग गर्ने भन्ने ज्ञानको कमी छ । नेप्लीज एसोसिएसन फर स्कुल लाइवेरियनका महासचिव यज्ञराज भट्टचाहिँ विद्युतीय लाइबेरीको प्रयोग गर्नेहरूलाई चाहिएको सामग्री खोज्न सिकाउनुपर्ने बताउनुहुन्छ । स्थानीय तहमा कम्तीमा एउटा सार्वजनिक पुस्तकालय स्थापना गर्ने, सबै वडामा स्याटलाइट पुस्तकालय तथा घुम्ती पुस्तकालय सेवा सञ्चालन गर्ने सरकारले नीति लिएको छ तर पुस्तकालय स्थापना प्राथमिकता पर्न सकेको छैन ।
पुस्तकालय ज्ञानका भण्डार हुन् । पाठकले चाहेको बेलामा पढ्न सक्ने गरी पुस्तकालयको व्यवस्थापन गर्न सके नयाँ पुस्ताले यसको भरपुर उपयोग गर्न सक्थे कि ।








प्रतिक्रिया राख्नुहोस्