मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरू धुमधामका साथ राखी पर्व मनाइँदै

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा दिदी बहिनीहरूको दाजुभाइको सुस्वास्थ्य, दीर्घायु तथा समृद्धिको कामना सहित रक्षा बन्धन अर्थात् राखी पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् ।
यस दिन दाजुभाइ दिदी बहिनीसँग रक्षा सूत्री “राखी” बाँध्न लगाउने चलन रहेको छ । राखी पर्वले दाजुभाइको रक्षा गर्नुका साथै दिदी बहिनीको आत्म सम्मान तथा सुरक्षाका लागि पनि प्रण गर्ने दिनको रुपमा दिने चलन रहेको छ ।
मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा राखी पर्वको अवसरमा आज बिहान देखि नै विशेष चहलपहल रहेको छ । बालबालिकाहरूमा बिहान देखि नै विशेष उत्साह देखिने गरेको छ । दिदी बहिनीले दाजु भाइको नाडीमा राखी बाँधेर मिठो खाने कुरा दिन्छन् भने दाजु भाईले पनि आफ्नो गच्क्ष अनुसारको कपडा तथा दक्षिणा दिने चलन रहेको छ ।

आफ्नो दाजुभाई नहुने दिदी बहिनीले छिमेकी दाजुभाइलाई पनि राखी बाँध्ने चलन रहेको छ । यसै बीच ब्रह्माकुमारी राजयोग सेवा केन्द्र जनकपुरधाममा रक्षा बन्धनको विशेष कार्यक्रम आज भएको छ । ब्रह्माकुमारी सेवा केन्द्रका सञ्चालिका कमला दिदीले केन्द्रमा आउनेहरूको नाडीमा कलात्मक राखी बाँधेर प्रसाद दिनु भएको छ ।
यसै गरि केन्द्रले प्रदेश सरकारका मन्त्री, प्रदेश तथा संघीय सांसद र जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरूलाई पनि राखी बाँधेर प्रसाद ग्रहण गराउनु भएको केन्द्रका ब्रह्माकुमार जगदीश भाईले जानकारी दिनु भएको छ । जिल्ला प्रहरी कार्यालयको बन्दी कक्षमा रहेका कैदीहरूलाई पनि राखी बाँध्ने काम भएको छ ।
यस अवसरमा जनकपुरधाम सहित तराई मधेशका जिल्लाहरूमा करोडौँको राखी तथा मिष्ठान्न एवं फलफूलको कारोबार भएको छ । जनकपुरधामका मिठाइ पसलमा दुई दिन देखि नै भिड रहेका थिए ।









प्रतिक्रिया राख्नुहोस्