तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका सुन्तलामा पिङ्ग रोग 

सल्यान । सल्यानमा प्रमुख निकासीयोग्य फलफूल सुन्तलामा नयाँ रोग देखिएको छ । सुन्तलाका पात पहेलो हुने, बोक्रो सुक्ने र पछि बोट नै सुक्ने रोग देखिएको हो । 

सुन्तलामा रोग देखिएपछि कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको समन्वय र कृषि बिकास कार्यालय सल्यानले यसको नमुना सङ्कलन गरी राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रमा पठाएको थियो । नमुना परिक्षण गर्दा पिङ्ग रोग पुष्टि भएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशम कुमार बस्नेतले जानकारी दिनु भयो ।  

सुन्तला बगैँचामा बढी ओसिलो र न्यानो वातावरण भएको आषाढ देखि साउन, भदौसम्म सुन्तलाका बोटका हाँगामा यो रोगको ढुसीले आक्रमण गर्ने उहाँको भनाई छ । शुरुमा यो रोगले छोएको ठाउँमा पानीले भिजेको जस्तो देखिने बिस्तारै रोगले ग्रस्त पार्दै जाने र वर्षा पनि सकिएपछि बिस्तारै हाँगाको बोक्राको तन्तु मर्दै जाने र सुक्न थाल्ने लक्षण देखिने बस्नेतको भनाई छ । संक्रमित बोटा लम्बाइतिर बोक्रा चर्किने गर्दछ  । बोक्रा सुकेर चर्केको भागमा गुलाबी रङ्ग आउने यसरी बोक्रा सुकेपछि जुन हाँगामा लागेको छ त्यो हाँगा सुकेर जाने उहाँले बताउनु भयो । 

उहाँका अनुसार सुन्तलामा देखिएको रोगको उपचार तथा रोकथामको लागि बोटको फेदमा माटोको सतहबाट १ मिटर जति माथि वोडेक्स पेस्ट लगाउने, रोग देखिएको बोटको माथिल्लो भागमा कपर अक्सिसकलोराईड युक्त विषादी २ ग्राम प्रति लिटर पानीको वा बोडो मिश्रण १ प्रतिशतका दरले स्प्रे गर्न सकिन्छ । यस्तै उक्त विषादीलाई १० देखि १२ दिनको फरकमा २ देखि ३ पटक सम्म प्रयोग गर्नु पर्ने बताउनु भयो ।

सल्यानका बागचौर नगरपालिकाको ८ र ९ का केही स्थानमा उक्त रोग देखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button