नेपाल र पाकिस्तानका बीचमा भइरहेको एसिया कप खेल हेर्न विद्यालय नै बन्द

जनकपुरधाम । नेपाल र पाकिस्तानका बीचमा भइरहेको एसिया कप खेल हेर्नका लागि तराई मधेशका जिल्लामा विशेष क्रेज देखिएको छ ।
जनकपुरधामको कतिपय चलचित्र मन्दिरमा फिल्म छाडेर नेपाल र पाकिस्तानका बीचको खेलको सिधा प्रसारण एवं प्रदर्शनको व्यवस्था गरिरहेको छ ।
यसैगरि जनकपुरधामको चौक चौकमा ठूला स्क्रिनमा म्याचको प्रसारणको व्यवस्था गरिएको छ । जनकपुरधामको रामचौकमा ठूलो पर्दामा प्रसारणको व्यवस्था गरिएको छ । यसका साथै जनकपुरधामको ठूला पसल पसलमा खेलको सिधा प्रसारण हेर्ने व्यवस्था मिलाएको छ । म्याच हेर्नका लागि ठुलो भिड देखिएको छ ।
यसै बीच एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालय बन्द गरेर बिदा दिइएको छ । जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै नेपाल टिमको हौसला बढाउन र खेलप्रति विद्यार्थीको ऊर्जावान् भावना जागृत गराउन विद्यालय बन्द गरिएको जनाएको छ ।
क्रिकेट हेर्नको लागि उपमहानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई २ बजेपछि बिदा दिएको शाखाका प्रमुख उपसचिव महिलाल यादवले जानकारी दिनुभयो । मधेश प्रदेशका जिल्लामा क्रिकेट खेल सबैभन्दा चर्चित खेलको रुपमा रहेको छ ।
मधेश प्रदेशका तर्फबाट यस पटक नेपाली राष्ट्रिय क्रिकेट टिममा ३ जना खेलाडी रहेका छन् । कतिपयले नेपालको जीतको कामना सहित जनकपुरधामका कतिपय मठ मन्दिरमा विशेष अनुष्ठानको पनि आयोजना गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्