विद्यालयमा जङ्कफुड निरुत्साहित गर्न चन्द्रनगरमा टिफिन बक्स वितरण

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जङ्कफुड निरुत्साहित गर्न सामुदायिक विद्यालयहरूमा टिफिन बक्स वितरण भइरहेको छ ।
विद्यालयमा जङ्कफुड (पत्रु खाना) निरुत्साहित गरी बालबालिकाहरूलाई घरमा तयार गरिएको खाजा खाने बानीको विकास गरी विधार्थीहरुको पोषण, स्वास्थ्य र शिक्षण सिकाई सुधारको लागि चन्द्रनगर गाउँपालिकाको आर्थिक सहयोगमा १ टिफिन बक्स वितरण भइरहेको छ ।
चन्द्रनगर गाउँपालिकाका सामुदायिक विद्यालयका कक्षा ६ देखि कक्षा १२ सम्मका १ हजार ६ सय विद्यार्थीलाई टिफिन बक्स वितरण हुने गाउँपालिकाले जनाएको छ ।

बाल विकास देखि कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा नै दिवा खाजाको व्यवस्था हुने भएकोले कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई मात्रै टिफिन बक्स वितरण भइरहेको गाउँपालिकाले जनाएको छ ।
हाल सम्ममा वडा नं २ मा रहेको दुर्गा खोभारी जन्ता माविमा अध्ययनरत करिब ६ सय ७५ विद्यार्थीलाई र वडा नं १ मा रहेको जन्ता माविमा करिब २ सय २५ विद्यार्थीलाई टिफिन बक्स वितरण भैसकेको चन्द्रनगर गाउँपालिका शिक्षा शाखा प्रतिनिधि देनकुमार महतोले जनाएको छ।
आज मात्रै वडा नं ६ स्थित रहेको मरिचमान माविमा करिब ४ सय १७ जना विधार्थीहरुलाई टिफिन बक्स वितरण भएको छ । मरिचमान माविका प्रधानाध्यापक लालबाबु यादवले विधार्थीहरुलाई टिफिन बक्स नहुँदा टिफिन समयमा छात्र तथा छात्राहरू घरमा खाजा खान गएपछि अधिकांश विद्यार्थी पुन विद्यालयमा नआउने गरेको जानकारी दिनुभयो ।
यो टिफिन बक्सले विद्यार्थीहरू अब पुरै घण्टी विद्यालयमा रहने वातावरण बनाउने भएको हुँदा टिफिन बक्स वितरण कार्य सराहनीय भएको उहाँले बताउनुभयो ।
त्यस्तै गाउँपालिका अध्यक्ष राजकुमार महतोले बिस्कुट डढेको तेलमा पाकेका खानेकुरा, चाउचाउ लगायत बाहिरको खानेकुराले विधार्थीहरुको स्वास्थ्य समस्या देखिने गरेको हुँदा घरको ताजा खाना, खाजा ल्याउनलाई टिफिन बक्स वितरण भइरहेको बताउनुभयो । सरकारी स्तर बाट यो मधेश प्रदेशमै टिफिन बक्स वितरण पहिलो पटक भइरहेको अध्यक्ष महतोले दाबी गर्नुभयो।
टिफिन बक्स हाल सममा ३ वटा माविमा वितरण भइसकेको र वडा नं ३ स्थित राम जन्ता आधारभूत विद्यालय बर्कुर्वा तथा वडा नं ५ मा रहेको अरनिको जन्ता आधारभूत विद्यालय मोहनपुरमा वितरण गरिने छ।








प्रतिक्रिया राख्नुहोस्