रोल्पामा झ्याप्प झ्याप्प बत्ती जाने समस्याले बिद्युत् उपभोक्ता मर्कामा

रोल्पा । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत रोल्पा वितरण केन्द्र मार्फत वितरण भएको विद्युत् झ्याप्प झ्याप्प जाने समस्याले गर्दा बिद्युत् उपभोग गर्ने उपभोक्ताहरू मर्कामा पर्ने गरेका छन् ।
रोल्पामा ठुला ठुला उद्योगहरू नभएता पनि रोल्पा सिमेन्ट उद्योग भने बुढागाँउमा ६ मझौला तथा साना उद्योग कुटानी पिसानी गर्ने मिल, विभिन्न ब्यापार व्यवसाय गर्ने पसल, कपडा सिलाइ व्यवसायी, सरकारी तथा गैरसरकारी संस्था, अस्पताल स्वास्थ्य संस्था, बैङ्क, फर्निचर उद्योग, ग्रील उद्योगहरू सञ्चालनमा छन् ।
त्यसैगरी जिल्लामा सञ्चालित रेडियो नेपाल र नेपाल टेलिभिजनको रिले प्रसारण केन्द्र, मोबाइलका टावर, सामुदायिक एफ.एम, पत्रपत्रिका र छापाखानाहरूमा लोडसेडिङ नभएको अवस्थामा पनि बिद्युत् अनियमित भई दैनिक पटक पटक घण्टौँसम्म बत्ती जाँदा सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।
बिहान, दिउसो, साझ र राति कुन बेला कति पटक कति समय बत्ती जान्छ र आउँछ भन्ने कुनै समयसिमा छैन । साँझको बेला खाना पकाउने, खाने समयमा बत्ती गएर अन्धकार हुँदा दियालो टुकी, मैनबत्तीको भरमा खाना खानुपर्ने बाध्यता छ भने बत्ती गइरहँदा अध्ययन गर्ने विद्यार्थी थप मर्काका पर्ने गरेका छन् ।
रोल्पा जिल्लाको आफ्नै विद्युत् गृह पावर हाउस नहुँदा अन्य जिल्ला प्युठान, दाङ र सल्यानको बाटो हुँदै बिद्युत् लाइन वितरण गरिएकोले बत्ती जाने समस्या भएको नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रका कार्यालय प्रमुख अशेश्वर शाहले बताउनुभयो । प्रसारण लाइनको दुरी टाढा भएकोले रुखका हाँगाहरूले तारमा छुँदा र अन्य कारणबाट पनि बत्ती जान्छ, समयमा सवस्टेसन नबन्दा र उद्घाटन भएको सवस्टेसन वर्षौँसम्म सञ्चालनमा नआउँदा समस्या हुने गरेको कार्यालय प्रमुख शाहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्