पहिरोका भिमदत्त राजमार्ग अवरुद्ध
धनगढी । धनगढी–डडेल्धुरा भिमदत्त राजमार्ग बन्द गरिएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइसँग जोड्ने एकमात्र भिमदत्त राजमार्ग अवरुद्ध हुँदा दर्जनौँ यातायातका साधन बीचमै रोकिएका छन् ।
सडक डिभिजन कार्यालयका अनुसार पहिरोसँगै सडक भासिएको कैलालीको बुढीतोला सडकखण्डको मर्मत कार्यका लागी बिहान १० बजेदेखि राजमार्ग बन्द गरिएको छ । अहिले पनि बुढीतोलमा काम जारी रहेकाले अपराह्न ४ बजे पछि राजमार्ग खुल्ने छ । पहिरोसँगै सडक भासिदा साउन २२ गते देखि अवरुद्ध भएको भिमदत्त राजमार्ग अझै पूर्णरुपमा सुचारु भएको छैन । ठुलो पहिरो गएर सडक भासिएकाले राजमार्ग पटक पटक खुल्ने र बन्द हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले प्राविधिक टोली सहित डोजरको सहायताले निरन्तर बुढीतोला सडकखण्डमा मर्मत कार्य भइरहेको र राजमार्ग पूर्ण रुपमा सुचारु हुन समय लाग्ने देखिएको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको लाइफ लाइनका रुपमा लिइने भिमदत्त राजमार्ग पहिरो गएको तीन साता सम्म पनि सुचारु हुन सकेको छैन । सम्बन्धित निकायले तदारुकता नदेखाउँदा राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको यात्रुहरूको भनाई छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भदौ १ गते बुढीतोला सडकखण्डको स्थलगत निरीक्षण गर्दै राजमार्ग पूर्ण रुपमा सुचारु हुने गरि काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्