तपाईँ सुन्दै हुनुहुन्छः

वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन, आजै अन्त्येष्टि

जनकपुरधाम । प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ ।

नेपालीको सोमबार  बेलुका ८ः१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको उहाँका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

विगत १४ महिनादेखि बिरामी पर्नुभएका नेपाली गत असोज १२ गतेदेखि ओछ्यान पर्नुभएको थियो । यसअघि उहाँलाई भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उहाँ पछिल्लो लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको विभिन्न आन्दोलनमा प्रहरीको लाठी चार्जबाट खाएको चोटले मेरुदण्डको हाडसमेत त्यतिबेला भाँचिएको थियो ।

 जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा बुबा रामदुलार साह र आमा इन्द्रमणि देवीबाट विसं २००२ भदौ १९ गते उहाँको जन्म भएको थियो ।

मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेपछि मिसन पत्रकारिताबाट आफ्नो पत्रकारिता जीवन सुरुआत गर्नुभएको थियो । उहाँले विसं २०१५ मा जानकी नौवमी कविता लेखेर र वाचन गरेर साहित्य लेखन सुरु गर्नुभएको थियो ।

त्यसपछि उहाँले देश र समाजको हितका लागि, अधिनायकवादका विरुद्ध, लोकतन्त्र, समाजवाद र समानताका लागि निरन्तर आफ्नो लेखनमार्फत आवाज उठाउँदै आउनुभएको थियो । वरिष्ठ पत्रकार नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता सुरुआत गर्नुभएको थियो ।नेपालीका एक छोरा,  तीन छोरी र श्रीमती हुनुहुन्छ  ।  

स्वर्गीय वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी नेपालीको निधनमा विभिन्न संघ संस्था तथा व्यक्तिहरूले समवेदना व्यक्त गर्नु भएको छ । उहाँको पार्थिव शरीर जनकपुरधामको वडा नंं २३ विन्धिमा रहेको छ । स्व.नेपालीको आइतबार बिहान १० बजे शव यात्रा निकालेर नगर  परिक्रमा पछि दुग्धमति किनारमा दाहसंस्कार गरिने छोरा राघवेन्द्र साहले जानकारी दिनु भयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button