तपाईँ सुन्दै हुनुहुन्छः

सार्कलाई गतिशील बनाइनेछ : परराष्ट्रमन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील बनाइने बताउनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँले सार्क राष्ट्रका विदेश मन्त्रीको अनौपचारिक बैठक राखेर सार्कलाई गतिशीलता दिनेबारेमा छलफल गरिने बताउनुभयो ।

उहाँले सीमा र सुरक्षाका बारेमा सरकार संवेदनशील रहँदै आएको उल्लेख गर्दै यस सम्बन्धमा आवश्यक काम हुँदै आएको बताउनुभयो । सीमा सम्बन्धमा दुवै देशको संयुक्त समितिमार्फत काम हुँदै आएको उल्लेख गर्दै मन्त्री साउदले सीमा विवादलाई पारस्परिक वार्ता, छलफल र कूटनीतिक रुपमा समाधान गर्नुपर्नेमा सरकार रहँदै आएको बताउनुभयो ।

उहाँले नेपालको परराष्ट्र नीति असंलग्नता, पञ्चशीलको सिद्धान्त, विश्व शान्तिको मान्यता, संयुक्त राष्ट्र सङ्घको बडापत्रका आधारमा सञ्चालन हुँदै आएको बताउँदै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध रहेको धारणा व्यक्त गर्नुभयो । परराष्ट्र नीति राजनीतिक दलपिच्छे फरक फरक गर्न नहुने र सरकारमार्फत एक नीतिमा एकरूपता अपनाउँदा राम्रो हुने मन्त्री साउदको धारणा थियो ।

बैठकमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति र व्यवहारबिच तालमेल नभएको र अस्पष्टताको सन्दर्भमा संसद् र समाजमा अनेकौँ प्रश्न उठेकाले समितिले ती प्रश्नको यथोचित सम्बोधन गर्न प्रयास गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो । साथै उहाँले सार्वभौमसत्ता, स्वाधीनता, समानता, भूगोलको रक्षा भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन स्वाभिमानका सवालमा उठ्ने विषयलाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकीसँगको सम्बन्धलाई पारस्परिक हित र सम्मानका आधारमा सहज र सुमधुर बनाउनुपर्ने बताउनुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बनाउँदै त्यसमा समितिले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री वर्षमान पुनले पछिल्लो समय राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्ध जटिल विषय बनेर आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button